काठमाडौं, भदौ ११ । सरकारले आगामी वर्षदेखि स्कुल तथा कलेजमा चलचित्र अनिवार्य रुपमा पढ्नु पर्ने व्यवस्था गर्ने भएको छ। आम नागरिकमा नेपाली चलचित्रको इतिहास, वर्तमान अवस्था तथा प्राविधिक पक्षबारे जानकारी दिने उद्देश्यले पाठ्यक्रममै चलचित्रलाई समावेश गर्न लागेको हो।
पाठ्यक्रम विकास केन्द्रले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई यसका लागि पाठ्यक्रम निर्माण समितिको पदेन सदस्यको रुपमा आमन्त्रित गरेको छ। “पाठ्यक्रम विकास केन्द्रसँग यसबारेको छलफल करिब अन्तिम चरणमा पुगिसकेको छ,” चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले भने, “यो वर्ष ढिलो भइसक्यो, अब अर्को वर्षदेखि पढाउने गरि पाठ्यक्रममा समावेश गर्ने मोटामोटी सहमति भइसकेको छ।”
अर्को वर्षबाट विद्यालय तहमा समावेश गर्ने सहमति भएको भन्दै दाहालले निमावि तहमा राख्ने कुरा भएको तर आफूले त्योभन्दा तल्लो तहबाट पाठ्यक्रममा राख्न पहल गरिरहेको जानकारी दिए।
“विद्यालयमा समावेश गर्ने पक्का भएको तर कलेजमा पनि के गर्ने भन्ने निश्चित भइसकेको छैन। तर सकेसम्म आउँदो वर्षमा समावेश गर्ने पहलमा छु,” अध्यक्ष दाहाल भन्छन्, “विद्यालयमा सके १०० पूर्णाकको सम्भव नभए ५० पूर्णाकको पाठ्यक्रम बनाउने पहल भइरहेको छ।” पाठ्य पुस्तक लेखकहरुसँग पनि दाहालले छलफल अगाडि बढाइसकेका छन्। १०० पूर्णाकको पाठ्यक्रम तयार नभए कुन विषयमा कति राख्ने भन्नेबारे पनि उनले विज्ञहरुसँग छलफल थालेका छन्।
दाहालले कोरोना प्रभाव कम हुन बित्तिकै आगामी वर्षका लागि पाठ्यक्रम निर्माण गर्ने कार्य शुरु हुने जानकारी दिए। अहिले चलचित्र पढाइ भइरहेका कलेजहरुको पाठ्यक्रम पनि परिमार्जन हुने उनले बताए।
कलेजहरुको पाठ्यक्रम निर्माणका लागि बलिउड तथा हलिउडका चलचित्र पढाउने कलेजहरुसँग छलफल गरिरहेको दाहाल बताउँछन्।
“स्कुल तथा क्याम्पसहरुमा चलचित्रवारे शिक्षा शुचारु गर्न सके नेपाली कला, संस्कृति र साहित्यको महत्व बढ्ने र नेपालमा फिल्म कल्चरको विकास हुनेछ,” उनी भन्छन्, “स्कुल तहदेखि नै चलचित्रको इतिहास, साहित्यीक पक्ष र प्राविधिक पक्षको ज्ञान जरुरी रहेकोले यसको पहल गरेको बताए। आगामी वर्षबाट स्कुलमा पढ्न पाइने छ। कलेजमा पनि सम्भवत आर्को सालबाट नै पाइने छ।”
नेपालमा चलचित्रको इतिहास ५० वर्ष लामो भइसके पनि पाठ्यक्रममा अझै समावेश हुन सकेको छैन।


























