कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरेर ल्याएको एकसिंगे गैँडाको संख्या बढेको छ। चितवनबाट ९ वटा गैंडाको ल्याएकोमा अहिले सो संख्या बढेर १७ पुगेको छ। गैंडाको बासस्थान र सुरक्षाको अवस्था सुदृढ गरिएपछि गैंडाको सङ्ख्या बढ्न थालेको हो शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ। पहिलोपटक सन् २००० मा चितवनबाट स्थानान्तरण गरी चारवटा गैंडा शुक्लाफाँटामा ल्याइएको थियो। त्यसपछि सन् २०१७ मा पाँचवटा गैंडा ल्याइएको थियो। हाल निकुञ्जमा १० वटा भाले, पाँचवटा पोथी र दुई वटा केटाकेटी संरक्षित रहेका छन्।
स्थानान्तरण भएको दुई दशकपछि गैंडाको सङ्ख्या सन्तोषजनक रुपमा वृद्धि हुँदै गएको निकुञ्जका मुख्य संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बताए। ‘गैंडालाई चौबीसै घण्टा निगरानीमा राखेर सुरक्षा दिएका छौंँ’, उनले भने, ‘जोखिमयुक्त क्षेत्रमा क्यामेरा जडान गरी गैंडाको निगरानी राख्ने कार्य भैरहेको छ।’ गैंडा शाकाहारी प्राणी भएकाले आहाराको कमी हुन नदिन घाँसे मैदान व्यवस्थापनसँगै गैंडाले क्रिडा गर्ने तालतलैया क्षेत्र व्यवस्थापनको कार्यमा जोड दिइएको उनले बताए।
गैंडाको मुख्य बासस्थानका रुपमा महाकाली नदी तटीय क्षेत्र, चौधर नदी तटीय क्षेत्र, घाँसे मैदान, रानी ताल, सलगौडी ताललगायत रहेका छन्। ‘निकुञ्जका कर्मचारीसँंगै नेपाली सेनाले चौबिसै घण्टा गैंडालगायतका दुर्लभ वन्यजन्तुको सुरक्षाका लागि चनाखो भएर कार्य गर्दै आएकाले हालसम्म चोरी शिकारीका घटना हुन पाएका छैनन्,’ उनले भने, ‘संरक्षणका हिसाबले गैंडाको सङ्ख्यामा बृद्धि हुनुलाई सुधारन्मुख भन्न सकिन्छ।’ निकुञ्जमा पर्याप्त ताल र सिमसार क्षेत्र भएकाले गैंडाका लागि वासस्थान राम्रो रहेको उनको भनाइ छ।
गैंडा चोरी शिकारी
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सन् २०१६ मा गैंडाको चोरी सिकारी गरी खागसहित बेलडाँडीका नत्थु राना पक्राउ परेका थिए। निकुञ्जकै गैंडाको चोरी शिकारी गरी खाग झिकेको आरोपमा रानालाई १३ वर्षको जेल सजाय भएको थियो। सन् २०१४ मा निकुञ्जबाट भारतको टाटरगञ्ज पुगेको भाले गैंडाको अर्को भाले गैंडासँग जुध्दा मृत्यु भएको थियो। सन् २०१८ मा गैडाको आक्रमणबाट निकुञ्ज छिरेका चार जना घाइते भएका थिए। गैंडाको आक्रमणमा परेर मृत्यु भएको रेकर्ड भने निकुञ्ज कार्यालयसँग रहेको छैन। रासस


























