मुम्बई, भदौ ८ । अमिताभ बच्चनले कौन बनेगा करोडपति (केबीसी) को आगामी सिजनको सुटिङ गरेका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्बिर सेयर गर्दै उनले केबीसीको सुटिङ थालेको जानकारी दिए।
उनले लेखेका थिए, ‘काममा फेरि फर्क्यौं। निलो पीपीई, केबीसी १२। सुरु भएको थियो २००० मा र अहिलेको वर्ष २०२०। २० वर्ष !’
उनले सार्वजनिक गरेको तस्बिरमा सबैजना निलो रंगको पीपीईमा देखिन्छन्। यो वर्ष अमिताभको लागि केही खास छ । केबीसीमा कार्यक्रम प्रस्तोता बनेको यो वर्ष २० वर्ष भयो। ब्रिटिस सो ‘हु वान्टसस टु वी बिलिनियर’को भारतीय फ्रेन्चाइज केबीसीको पहिलो सिजन सुन् २०००/२००१ मा प्रसारणमा आएको थियो।
अमिताभले आफ्नो पछिल्लो ब्लगमा सतर्कता अपनाएर केबीसीको सुटिङमा जाने उल्लेख गरेका थिए। जुलाईमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। मुम्बईको नानावती अस्पतालमा २० दिन बिताएपछि उनी घर फर्के।
उनी अभिनित ‘ब्रह्मास्त्र’को कोरोनाका कारण प्रदर्शन रोकिएको छ। फिल्ममा उनीसँगै अभिनेता रणवीर कपुर र आलिया भट्टको अभिनय छ। यसअघि अभिताभ र आयुष्मान खुराना अभिनित ‘गुलाबो सतावो’डिजिटल प्लेटफर्ममा प्रदर्शनमा आएको थियो।


























