भदौ ८ । रुस र चीन लगायत केही देशले कोरोना भाइरसविरुद्धको खोप ल्याएपछि अहिले विश्वमा जारी महामारी नियन्त्रणमा आउने केही आशा जागेको छ। भारतमा भने त्यहाँका औषधी कम्पनीले भन्दा पहिल्यै त्यहाँका मिडियाहरुले कोरोनाको औषधी ल्याउने तिथिमिति सार्वजनिक गरेपछि अप्ठ्यारो स्थिति निम्तिएको छ।
भारतीय मिडियाले ७३ दिनभित्र कोरोनाविरुद्धको औषधी भारतमै बन्ने खबर सार्वजनिक गरेका थिए। भारतका अधिाकांश मिडिया सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) निकट छ। मिडियाले गलत सूचना फैलाएपछि भारतको औषधी कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ) ले यो खबर गलत रहेको बताइदिएको छ।
एक विज्ञप्ति जारी गर्दै कम्पनीले ७३ दिनभित्र खोप उत्पादन हुने भनी मिडियाहरुमा फैलाइएको खबर झुठो रहेको बताएको छ। फर्जी र अनुमानका भरमा लेखिएका समाचारमा कुनै सत्यता नरहेको एसआइआइले विज्ञप्तिमा उल्लेख गरेको छ।
विज्ञप्तिमा एसआइआइले लेखेको छ, ‘हामीलाई सरकारले कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गर्न अनुमति दिएको छ, तर सफलतापूर्वक परीक्षण गरेपछि मात्र यो भ्याक्सिन बजारमा आउनेछ, बजारमा पठाउनुअघि सबै मानक पूरा गर्नुपर्छ।’
अहिलेसम्म भ्याक्सिनबाट खतराबिनै संक्रमितको उपचार हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको र भ्याक्सिन कहिले आउने भन्नेबारे कम्पनीले नै आधिकारिक रुपमा पुष्टि गर्ने एसआइआइले विज्ञप्तिमा उल्लेख गरेको छ।
यसअघि भारतका कैयौं मिडियाहरुले एसआइआइले ७३ दिनभित्र कोरोनाविरुद्धको भ्याक्सिन ल्याउने खबर प्रकाशन÷प्रसारण गरेका थिए। एजेन्सी


























