भदौ, ७ । छोटो भिडियो सेयरिङ एप टिकटकले अमेरिकी सरकारविरुद्ध कानुनी लडाइँ लड्ने भएको छ।
एजेन्सीहरुका अनुसार आफ्नो मातृकम्पनी बाइटीडान्सलाई अमेरिकामा रहेको व्यवसाय बेच्न दबाब दिने ट्रम्प प्रशासनको निर्णयविरुद्ध टिकटक अदालत जानलागेको हो।
कम्पनीले शनिबार कानुनी लडाइँ लड्ने बताएको हो। अगस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ९० दिनभित्र अमेरिकामा रहेको टिकटक व्यवसाय अमेरिकी कम्पनीलाई बिक्री गर्न भनेका थिए। टिकटकका प्रवक्ता जोस गार्टनरले प्रविधिसम्बन्धी अनलाइन द भर्जलाई आफू अदालत जाने बताएका हुन्।
आफूहरुले १ वर्षसम्म रचनात्मक समाधानको अपेक्षा गरे पनि अमेरिकी सरकारले दबाब दिएको उनको भनाइ छ। ट्रम्प प्रशासनले अनावश्यक दबाब दिएकाले त्यसविरुद्ध कानुनी लडाइँ लड्ने टिकटकले बताएको हो। यसअघि नै टिकटकले अदालतमा मुद्दा दायर गर्ने समाचारहरु आए पनि शनिबार स्वयं कम्पनीले जानकारी दिएको हो।
अमेरिकाले टिकटकले अमेरिकी नागरिकको व्यक्तिगत विवरण आफ्नो मातृकम्पनी बाइटीडान्स हुँदै चीन सरकारसम्म पुर्याउने र त्यो अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा हुने भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। साथै ९० दिनभित्र अमेरिकी कम्पनीलाई बिक्री गर्न भनिएको थियो। राष्ट्रपतिको कार्यकारी आदेशपछि माइक्रोसफ्टले टिकटक किन्न धेरै जोडबल गरिरहेकोमा पछिल्लो समय ट्विटरले पनि इच्छा देखाइरहेको छ। एजेन्सी


























