नयाँदिल्ली, भदौ ५ । भारतको तेलंगनास्थित एक जलविद्युत केन्द्रमा आगलागी हुँदा ६ जनाको शव भेटिएको छ। अरु ३ जना भित्रै थुनिएका छन्।
बिहीबार राति भएको आगलागीमा ९ जना थुनिएका थिए । बिहान मात्रै ६ जनाको शव फेला परेको हो। तेलंगनाको श्रीसैलम जलविद्युत कार्यालयमा आगलागी भएको हो। जुन आन्ध्र प्रदेशसँग जोडिएको तेलंगनाको सीमा क्षेत्रमा पर्छ।
शुक्रबार दिउँसोसम्म पनि आगलागीभित्र थुनिएका तीनजनालाई उद्धार गर्ने प्रयास भइरहेको स्थानीय मिडियाले जनाएका छन्। भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार शव भेटिएकामध्ये दुईजना त्यहीँ कार्यरत एसिस्टेन्ट इन्जिनियर भएको कार्यालयका कर्मचारीहरुले जनाएका छन्।
कार्यालयबाट दिउँसोसम्म पनि बाक्लो धुवाँको मुस्लो टनेलबाट उडिरहेको छ। घटनासँगै त्यहाँ कार्यरत १० जना कर्मचारी भाग्न सफल भएका थिए भने डिभिजन इन्जिनियर, एसिस्टेन्ट इन्जिनियर सहित ९ जना थुनिएका हुन्।
तेलंगनाको मुख्यमन्त्री कार्यालयले यस घटना कसरी भयो भन्ने बारे विस्तृतमा छानविन गर्ने जनाएको छ। आन्ध्र प्रदेशका मुख्यमन्त्री वाइएस जगनमोहन रेड्डीले भने यस घटनासँगै आफ्नो अर्को एक भ्रमण कार्यक्रम स्थगित गरेका छन्। एजेन्सी


























