भदौ ५ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङलाई थप अधिकार दिइएको छ।
दक्षिण कोरियाली गुप्तचर एजेन्सीका अनुसार किम जोङ उनले आफ्ना सहयोगीहरुलाई थप जिम्मेवारी दिएका हुन्। समाचारमा बताइएअनुसार किम जोङले अझै पनि ‘पूर्ण अधिकार’ आफैंमा राखेको भए पनि तनाव घटाउन धेरै नीतिगत जिम्मेवारी सहयोगीहरुलाई हस्तान्तरण गरेका छन्।
दक्षिण कोरियाको नेशनल इन्टेलिजेन्स सर्भिसले उल्लेख गरे अनुसार मुलुकको सबैजसो मामिला हेरिरहेका किमले अहिले जिम्मेवारी सहयोगीहरुलाई पनि बाँडेका हुन्। यद्यपि दक्षिण कोरियाली गुप्तचर संस्थाले यसअघि गरेका दाबी भने गलत साबित भएका थिए।
गुप्तचर संस्थाका अनुसार किम यो–जोङलाई अमेरिका र दक्षिण कोरियाको सम्बन्ध हेर्ने जिम्मेवारी दिइएको छ। यससँगै किम यो–जोङ उत्तर कोरियाको दोस्रो दर्जाकी नेता बनेकी छिन्। यद्यपि किम जोङ उनले आफ्नो उत्तराधिकारी भने कसैलाई पनि तोकेका छैनन्।
केही विश्लेषकहरुले भने यस महिना भएका दुई महत्वपूर्ण बैठकमा किमकी बहिनी उपस्थित नभएकाले उनको घटुवा भएको हुन सक्ने बताएका छन्।बीबीसी


























