काठमाडौं, भदौ ४ । हिन्दु महिलाले मनाउने तीज पर्व अन्तर्गत आज दरखाने दिन, दर खाएर मनाइदैछ। विभिन्न मीठा मिठा परिकारका साथ दर खाने चलन छ।
यो व्रत सक्नेले निराहार बस्ने भएकाले डर खाने दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्वतयारी गर्छन्। विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन्। दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान छ।

परापूर्वकालमा देवी पार्वतीले शीवलाई पतिको रुपमा पाउन निराहार ब्रत बसेको र कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहिताहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै भोली ब्रत बस्ने चलन रहेको छ।
महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन्। तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन्। यस अघिका तीजमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएकोमा यस बर्ष भने कोरोना महामारीका कारण त्यस्तो देखिएको छैन। एक महीना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधि हुने गरेको भएपनि कोरोनाले यसलाई यस बर्ष भने रोकेको छ।
एक महीना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा तोकिएको छ।
दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।
यस बर्षभने कोरोना महामारीका कारण तीजको चहल पहल देखिएको छैन भने पर्व मनाउने माहोल पनि देखिएको छैन। भिड भाड नगर्न र नाचगान नगर्न धेरै जसो स्थानीय प्रशासनले निषेध गरेकाले यस पटक ती ज सुनसान देखिएको छ।


























