चितवन । सरकारले एसिड आक्रमणमा परेकाहरूलाई निःशुल्क उपचार गर्ने भएको छ। साउन ३० गते नै भएको निर्णयअनुसार एसिड आक्रमण पीडितको उपचारका लागि देशभरका १७ वटा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरिसकेको छ। ‘एसिड आक्रमणका घटनाबाट पीडित भई तहाँ अस्पतालमा औषधि उपचार गराउन आउने पीडित व्यक्तिहरूको तहाँबाट हुन सक्ने उपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन आदेशाअनुसार अनुरोध छ,’ पत्रमा लेखिएको छ।
चितवनको भरतपुर अस्पतालसहित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, मानसिक अस्पताल लगनखेल, कोशी अस्पताल, नारायणी अस्पताल, डडेलधुरा अस्पताल, भेरी अस्पताल, गजेन्द्रनरायण सिंह सगरमाथा अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताललाई एसिड आक्रमणका घटना पीडितको निःशुल्क उपचार गर्न सरकारले पत्राचार गरेको हो।



























