चितवन, भदौ १ । नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकारहरुलाई प्रविधिको उच्चतम प्रयोग गर्दै समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ। शाखा अध्यक्ष राधेश्याम खतिवडाले आज (सोमबार) एक विज्ञप्ति प्रकाशित गरी सम्भव भएसम्म घरबाटै समाचार सम्प्रेषण गर्न आग्रह गरेका हुन्।
स्थानीय प्रशासनले जिल्लाका ६ वटा पालिकामा निषेधाज्ञा जारी गरेको स्मरण गराउँदै उनले पत्रकारहरु पनि उच्च जोखिमरहेको उल्लेख गरेकाछन्। जारी विज्ञप्तिमा भनिएको छ “उच्च जोखिमको बीचमा पनि आमनागरिकलाई सुसूचित गराउन अग्रपंक्तिमा रहेर हामीले सूचनाको क्षेत्रमा काम गरिरहेकै छौँ।”
आफ्नो सुरक्षाप्रति अति संवेदनशील रहँदै सम्भव भएसम्म निषेधाज्ञाको अवस्थामा घरभित्रै बस्न विज्ञप्तिमा आग्रह गरिएको छ। विज्ञप्तिमा भनिएको छ “समाचारका लागि सूचना लिनुपर्दा ई–मेल, मोबााइल फोन, टेलिफोन, सामाजिक सञ्जाल आदि माध्यमलाई बढी प्रयोग गरौं। प्रत्यक्ष नभेटी नहुने भएमा मात्रै सामाजिक दूरी कायम गरेर भेटौँ।”
बाहिर जानै पर्ने भएमा अरुको सवारी साधन प्रयोग नगरी आफ्नै निजी सवारीसाधन प्रयोग गर्न भन्दै विज्ञप्तिमा भनिएको छ “अरुलाई लिफ्ट नदिऔँ र अरुसँग लिफ्ट पनि नमागौँ। आफूले प्रयोग गर्ने सवारीसाधनमा अस्थायीरूपमा ‘पत्रकार’ वा ‘प्रेस’ लेखिएको कागज टाँसौँ। देखिने गरी आफ्नो परिचयपत्र लगाऔँ। यात्राका क्रममा सुरक्षाकर्मीले सोधपुछ गरेमा सहजरूपमा विवरण टिपाऔँ।”
स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र बिरामीको प्रत्यक्ष सम्पर्कबाट टाढै रहन आग्रह गर्दै भिडभाडमा नजान, अपरिचित, शंकास्पद र बाहिरका वस्तु नछुन, आफूले प्रयोग गर्ने सञ्चारसामग्रीहरु नियमित सेनिटाइज गर्न र अन्य साथीहरुले प्रयोग गर्दै आएका सञ्चारसाधनहरु सकेसम्म प्रयोग नगर्न जारी विज्ञप्तिमा भनिएको छ।
संकटको समयमा भ्रमको महामारी झनै खतरा हुने भएकोले त्यस्ता भ्रमलाई चिर्नका लागि सत्यतथ्य सूचना संकलन गरी प्रकाशन÷प्रसारण गर्न पत्रकारहरुलाई आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ “हतारो र अनावश्यक प्रतिस्पर्धा नगरी आधिकारिक नियकाबाट अधिकारिक व्यक्तिले दिएको सूचनलाई मात्र प्राथामिकता दिने गरौँ। बरु ढिलो दिऔँ, सत्य खबर मात्रै दिऔँ।”
संक्रमित व्यक्ति वा प्रभावितको सन्दर्भमा समाचार लेख्दा व्यक्तिगत गोपनीयता र आत्मसम्मानको विशेष ख्याल राख्न महासंघले आग्रह गरेको छ। पत्रकारहरुले सामाजिक सञ्जालमा पोष्ट गर्ने विषयले खास अर्थ राख्ने भन्दै सामाजिक सञ्जालमा विषयहरु लेख्दा र पोष्ट गर्दा विशेष ख्याल राख्न महासंघले स्मरण गराएको छ।
जिल्लामा कार्यरत पत्रकारहरुको कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागि सम्बन्धित निकायसँग महासंघले सहजीकरण गर्दै आएको उल्लेख गर्दै विज्ञप्तिमा कोही कसैलाई तत्कालै परीक्षण गराइहाल्नुपर्ने अवस्था भएमा पत्रकार महासंघमा सम्पर्क गर्न भनिएको छ।
पत्रकारहरुको मनोबल उच्च राख्न र जस्तोसुकै सहयोग गर्न पनि महासंघ तयार रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ “यो संवेदनशील समयमा अत्यन्त चनाखो र जिम्मेवार भएर काममा खटिन महासंघ आग्रह गर्दछ।”


























