चितवन, साउन ३० । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम तिब्र गतिमा हुँदै आएको छ।
कोरोना भाईरसको महामारीले लागू गरिएको लकडाउनले झण्डै एक महिना काम बन्द रहेपनि बैशाख २० गतेबाट सुरक्षा शतर्कता अपनाएर निर्माण कार्य सुरु गरिएको छ।
हाल रंगशालामा मुख्य मैदानको ८५ प्रतिशत काम सकिएको छ। यस्तै, ३० हजार दर्शक क्षमता रहने रंगशालाको प्यारापिट निर्माणका लागि पिल्लर ढलान काम हुँदै आएको छ।
मैदानको पश्चिमतर्फ रहेको स्ट्याण्ड ए र बीमा हाल पिल्लर उठाउने काम हुँदै आएको छ।
काम तिब्र गतिमा हुँदै आएपनि फाउन्डेसनमा आर्थिक अभाव देखिएको छ। झण्डै ३ अर्ब खर्च लाग्ने अनुमान गरिएको रंगशालामा हालसम्म मात्र १७ करोड २२ लाख ३ हजार ९ सय २ रुपैयाँ संकलन भएको छ।
निर्माण कार्य सुरु गर्नु अघि फाउन्डेसनको आन्तरिक कोषमा २ करोड १४ लाख ७ हजार ५ सय ३९ रुपैयाँ रहेको थियो।
रंगशाला निर्माणमा आर्थिक पाटो सम्हाल्दै आएका मुक्ति तिमल्सिनाले संकलन भएको भन्दा बढी पैसा रंगशाला निर्माणमा खर्च भएको बताए। हालसम्म २१ करोड ४४ लाख ५ हजार १ सय ५१ रुपैयाँ खर्च भएको छ।
आर्थिक अभाबका कारण फाउन्डेसनको उधारो मात्र ४ करोड २२ लाख १ हजार २ सय ४९ रुपैयाँ भइसकेको छ।
फाउन्डेसनले निर्माण घोषणा गर्दा दाताबाट सहयोग रकम संकलन गरेर रंगशाला बनाउने लक्ष्य लिएको थियो।
यस्तै, आर्थिक सहयोग जुटाउन फाउन्डेसनले रंगशाला प्रांगणमा धान्यांचल महायज्ञ लगाएको थियो। जसबाट झन्डै ७० करोड रकम दाताहरुले सहयोग गर्ने घोषणा गरेका थिए।
जसमा घोषणा गरिएको रकम मध्य असार मसान्तसम्म ७ करोड ८९ लाख ५८ हजार १ सय रुपैयाँ उठेको छ भने अझै ६१ करोड उठ्न बाँकी छ।
सहयोगका लागि कबुल गरिएको रकम समयमा नपाउँदा रंगशाला निर्माणमा आर्थिक संकट देखिएको छ । फाउन्डेसनले आर्थिक सहयोग बाहेक जिन्सी सहयोग समेत पाउँदै आएको छ। रंगशाला निर्माणका लागि ५२ लाख ७१ हजार बराबरको जिन्सी सहयोग प्राप्त भएको छ।
आर्थिक ब्यवस्थापन सहज भएको अवस्थामा फाउन्डेसनले अबको १८ महिना भित्र रंगशाला पूर्ण रुपमा तयार गर्ने लक्ष्य राखेको छ।


























