जनकपुर, साउन २७ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको दर बढ्दै गएको छ। कोरोना भाइरस संक्रमणका कारण जनकपुरमा थप एक जनाको ज्यान गएको छ।
प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका धनुषा विदेह नगरपालिका–८ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ।
उनी साउन ८ गते उपचारका लागि अस्पताल पुगेका थिए। पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेशनमा भर्ना गरिएको थियो। उनको सोमबार राति मृत्यु भएको प्रादेशिक अस्पतालका निमित प्रमुख एवं आइसोलेशन इन्चार्ज डा. जामुन सिंहले जानकारी दिएका छन्। उनी क्षयरोगका विरामी समेत रहेको अस्पतालले जनाएको छ।
यसअघि आइतबार जनकपुरको कदमचोकस्थित विनय तारा फाउण्डेशन आस्पतालमै मृत्यु भएका सुरक्षागार्डको पीसीआर रिपोर्ट सोमबार पोजेटिभ आएको थियो। उनी धनुषाको मिथिला बिहारी नगरपालिका ५० का बासिन्दा थिए।
दुईसाता अघि धनुषाको शहिदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो। योसँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।


























