चितवन । बुधबार काेराेना भाइरसकाे संक्रमण देखिएका चितवनका एक वृद्धका छाेराबुहारीमा पनि शुक्रबार काेराेना संक्रमण पुष्टि भएपछि भरतपुर-१, नारायणगढको पुतलीबजार क्षेत्रलाई सिल गरिएको छ। बुधबार काेराेना परीक्षण गर्दा ७९ वर्षका वृद्धमा काेराेना संक्रमण पुष्टि भएपछि उनकाे छाेराबुहारीकाे पनि स्वाब संकलन गरी परीक्षण गरेकाे थियाे। साेही क्रममा वर्ष ४६ का छाेरा र वर्ष ३८ की बुहारीमा काेराेना संक्रमण पुष्टि भएकाे भरतपुर अस्पताल काेभिड-१९ प्रयाेगशालाकी प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन्।
संक्रमितकाे परिवारमा रहेका दुई नाती र एक जना कामदारको पनि कोरोना परीक्षण गरिने प्रयाेगशालाले जनाएकाे छ। एकै परिवारका तीनजनामा काेराेना पुष्टि भएपछि पुतलीबजार क्षेत्रलाई काेराेना जाेखिमयुक्त क्षेत्र भनेर स्वास्थ्य सुरक्षाकाे लागि सिल गरिएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ। संक्रमण ग्रस्त क्षेत्रमा आवतजावतलाई निषेध गरिएकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।
शुक्रबार साँझ ७ बजेदेखि अर्काे आदेश जारी नभएसम्मकाे लागि साे क्षेत्र सिल गरिएकाे उनले बताए। पुतलीबजार क्षेत्रका करिब एकसय घरलाई सिल गरिएकाे उनले बताए। संक्रमितहरुकाे ‘ट्राभल हिस्ट्री’ नदेखिएकाेले थप कन्ट्रयाक ट्रेसिङकाे तयारी गरिरहेकाे स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले जानकारी दिए।


























