काठमाडौं, साउन २३ । बुद्ध एयरले कोभिड-१९ विरुद्ध सुरक्षा निर्देशिका बनाई पूर्वअभ्यास गरिरहेको छ। भदौ १ देखि हवाई सेवा सञ्चालनमा आउने सरकारको निर्णयसँगै बुद्धले पूर्वअभ्यास गरिरहेको जनाएको छ।
हरेक उडानअगाडि जहाज, ब्यागेज ट्रली, कार्यस्थलको संक्रमणरहित सफाइ, कर्मचारीहरुलाई सुरक्षा तालिम, तथा पीपीई प्रदान गरिसकेको बुद्ध एयरले जनाएको छ।
संक्रमणरहित हवाई यात्राका लागि प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ। यसका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, दोहरो तापक्रम चेकजाँच, ह्यान्ड स्यानिटाइज तथा फेस(सिल्डको प्रयोग अनिवार्य बनाइएको छ। विदेशमा पनि यसैगरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सुचारु भइसकेको कम्पनीको भनाइ छ।
बुद्ध एयरले भदौ १ देखि हुने हवाई उडानका लागि भाडादर पनि तोकिसकेको छ। जसअनुसार सुरुवाती एकतर्फी हवाई भाडादर विराटनगर तीन हजार, भैरहवा २७ सय, नेपालगन्ज ४२ सय, पोखरा १९ सय, भद्रपुर ३४ सय, जनकपुर २७ सय, धनगढी ५४ सय तोकेको छ।
हवाई यात्रामा हरेक यात्रुलाई पहिचान गर्न एकद्वार प्रणाली अपनाएको कम्पनीले जनाएको छ, जसअनुसार कम्प्युटर सिस्टम पनि अपडेट गरिएको बताइएको छ।
यसले महामारी रोकथामका लागि गर्नुपर्ने परीक्षण, पहिचान र कन्ट्याक्ट ट्रेसिङ कम्प्युटर सिस्टमबाट केही क्षणमै राज्यलाई उपलब्ध गराउने बुद्ध एयरले जनाएको छ।

























