काठमाडौं, साउन २१ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार –२०७६’ का लागि मनोनयनमा परेका ७ वटा पुस्तकको नाम सार्वजनिक गरेको छ।
गुठीले बुधवार एक विज्ञप्ति जारी गर्दै पुस्तकको सूची सार्वजनिक गरेको हो। ‘यस प्रयोजन निम्ति गुठीलाई २०७६ मा प्रकाशित कूल १५१ पुस्तकहरु प्राप्त भएका थिए,’ विज्ञप्तिमा भनिएको छ।
छनोटमा परेका ७ पुस्तकमध्ये एक पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार प्रदान गरिनेछ।
मनोनयन सूचीमा परेका कृतिहरूमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, शारदा शर्माको ‘यात्रामा’, योगी धर्ममहारसको महारसनिघण्टु (१–३), ललित विष्टको ‘मोहपथ’ र चन्द्रप्रकाश बानियाँको ‘महारानी’ रहेका छन्।
गुठीले उत्कृष्टमध्ये एक पुस्तकलाई हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ। पुरस्कारको राशी ४ लाख रूपैयाँ रहेको छ।


























