काठमाडाैं । ३१ करोड रुपैयाँको लागतमा हेटौँडामा वाग्मती प्रदेश प्रहरी कार्यालय भवन निर्माण प्रक्रिया अगाडि बढेको छ। वाग्मती प्रदेशकाे प्रहरी भवन निर्माण योजनाअन्तर्गत बन्न लागेकाे कार्यालय भवन साढे चार तलाको हुनेछ। जहाँ १२२ वटा सुविधासम्पन्न कोठा हुनेछन्। कार्यालयका प्रहरी नायब महानिरीक्षक वसन्त लामाले तीन वर्षमा सम्पन्न गरिने उक्त भवनको निर्माण ठेक्कामार्फत गरिने बताए।
भवन निर्माणगर्न वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा निर्माण भइरहेको जनाइएको छ। मन्त्रालयका अनुसार प्रदेशअन्तर्गत करीब तीन दर्जन प्रहरी भवन निर्माण भइरहेको छ। कतिपय स्थानमा निर्माण भइरहेको तथा कतिपय स्थानमा प्रक्रिया अगाडि बढाइएको छ। गोरखा भूकम्पले क्षतिग्रस्त र जीर्ण तथा प्रहरी भवन नभएको स्थानमा भवन निर्माण भइरहेको बताइएको छ। प्रदेश प्रहरी कार्यालयले प्रहरीलाई अनुशासित गराउन विशेष अभियान शुरु गरेको छ। घुस लिने र दिने दुवैलाई कारवाही गरिएको प्रहरी नायब महानिरीक्षक लामाले जानकारी दिए। साथै अपराध नियन्त्रण तथा लागूऔषध नियन्त्रण कार्य पनि प्रभावकारी रुपमा अगाडि बढाएको उनकाे भनाइ छ। – रासस


























