काठमाडाैं । प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को साेमबार बसेको बैठकले राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टलाई बोर्डको प्रमुखमा नियुक्त गरेको हो। बोर्डमा यसअघि राधेश पन्त र महाप्रसाद अधिकारीले प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यसम्पादन गरिसकेका छन्। तत्कालीन प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि गत चैतदेखि बोर्ड नेतृत्वविहीन रहँदै आएको थियो।
मन्त्रिपरिषद्का एक सदस्यका अनुसार आगामी चार वर्षका लागि बोर्डको प्रमुख कार्यकारी अधिकृतमा भट्टलाई नियुक्त गरिएको हो। अर्थमन्त्री एवम् सरकारका प्रवक्ता डा युवराज खतिवडा संयोजकत्वको समितिले प्रमुख कार्यकारी अधिकृतका लागि भट्टसहित रामकृष्ण खतिवडा र डा सरोज कोइरालाको नाम मन्त्रिपरिषद्मा पेश गरेको थियो। बोर्डले वैदेशिक लगानीका ठूला आयोजनाको संयोजन गर्दै आएको छ। बोर्डले संयोजन गरेको कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना हाल निर्माणको क्रममा रहेको छ।
यस्तै, नेपाली साझेदारसहितको चिनियाँ कम्पनी होङसीले सिमेन्ट उत्पादन गरिरहेको छ। चिनियाँ लगानीकै ह्वासिन सिमेन्ट उद्योगसमेत हाल निर्माणाधीन अवस्थामा रहेको छ। बोर्डले रु छ अर्ब बढी लगानीका आयोजना संयोजन गर्ने नीतिगत व्यवस्था रहेको छ। कूल २०० मेगावाट माथिका जलविद्युत् आयोजना समेत बोर्डले नै व्यवस्थापन गर्दै आएको छ। सार्वजनिक निजी साझेदारी सम्बन्धी ऐन-२०७५ ले बोर्डलाई थप शक्तिशाली बनाएको छ। सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेको सन्दर्भमा वैदेशिक लगानी भित्र्याउनका लागि बोर्डको भूमिका थप बढेर गएको छ। – रासस


























