हेटौंडा । मकवानपुरमा फ्रि मिडिया नेटवर्क गठन गरिएको छ। हेटौंडामा आयोजित एक कार्यक्रममा पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईंको संयोजकत्वमा १५ सदस्यीय नेटवर्क गठन गरिएको हो। नेटवर्कमा जिल्ला समन्वय समितिको कार्यालयका एक, जिल्ला प्रशासन कार्यालयका एक, सुरक्षा निकायका दुई, नेपाल बार एसोसिएसनका एक, उद्योग वाणिज्य संघका एक, जिल्ला महिला सञ्जालका एक, मानवअधिकार सम्बन्धी संघ/संस्थाका एक, गैरसरकारी संस्था महासंघका एक, नागरिक समाज संघ/संस्थाका दुई र जिल्लास्थित दुई जना वरिष्ठ पत्रकार सदस्य छन्।
नेटवर्कले पत्रकारको भौतिक सुरक्षा सुनिश्चितताका लागि छलफल गरी निष्कर्ष निकाल्ने, मिडियामा आएका समाचारका विषयबारे छलफल गरी सुधारका लागि प्रयत्न गर्ने र पत्रकार तथा अन्य मिडिया सरोकारवालाबीच समन्वयकारी भूमिका निर्वाह गर्नेछ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गाेविन्द आचार्यले नवगठित नेटवर्कले प्रेस स्वतन्त्रता उल्लंघनका घटनाको स्वतन्त्र अनुगमन गर्ने विश्वास व्यक्त गरे। प्रेस स्वतन्त्रता, मिडिया सुरक्षा र व्यावसायिकताबारे पहिचानमा आएका चुनौतीलाई सबै सञ्जाल मिलेर संयुक्त कार्ययोजना बनाउन आग्रह गरे। नेपालका सञ्चारगृह व्यावसायिक हुन नसक्दा कोरोना संक्रमणको छोटो अवधिमा धेरै नोक्सान भएको उनले बताए।
कोरोना संक्रमणले पाँच वटा रेडियो बन्द भएको र बीस जना पत्रकारमा कोरोना संक्रमण देखिएकोमा १८ जना संक्रमणमुक्त भइसकेको उनले जानकारी दिए। लकडाउन अवधिमा देशभरका ७ सय छापामाध्यम बन्द भएको भन्दै उनले कोरोना प्रभावका कारण पत्रकार र सञ्चार गृह प्रभावित हुने क्रम बढ्दो रहेको बताए। ‘स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँगै सञ्चारकर्मी अग्रमोर्चामा छन्,’ रोग नियन्त्रणका लागि जनतालाई शिक्षा र सूचना दिने काममा पत्रकार खटिइरहेको भन्दै उनले थपे, ‘हामी आमजनताका समस्याका बारे बोलिरहेका छौं भने जनतालाई सही सूचना के हो भनेर पनि प्रवाह गरिरहेका छौं।

यस्तो अवस्थामा सञ्चार क्षेत्र आफैँ अग्रपंक्तिमा रहँदा आफैँ प्रभावित हुनुपरेको उनको भनाइ थियो। दुईथरि सञ्चारकर्मी रहेकोमा एकथरिले स्वरोजगारमूलक ढंगले पत्रकारिता गरिरहेका र अर्कोथरि ठूला सञ्चारगृहमा काम गरिरहेका उनले बताए। पचास प्रतिशतभन्दा बढी पत्रकार आफैंले अनलाइन, रेडियो, टेलिभिजन, पत्रिका चलाएकोले त्यस्ता पत्रकारमा समस्या कम देखिए पनि ठूला मिडियामा धेरै समस्या देखिएको उनले बताए। ‘ठूला मिडियामा काम गर्ने कतिपय पत्रकारले तलबभत्ता नपाएको, कामबााट निष्कासित हुनुपरेको, आधा तलबमा काम गर्नुपरेको, ‘अहिलेलाई बिदामा बस्नुस् है’ भनिएको छ,’ उनले भने।
यसबाट सदरमुकाममा बसेर काम गर्ने र वैकल्पिक पेशा नभएकाहरु बढी प्रभावित भएको उनले बताए। ‘मिडिया बन्द हुनु र पत्रकार पलायन हुनु भनेको जनताको अधिकार, लोकतन्त्र, मानवअधिकार, विधिको शासनलाई वकालत गर्ने मानिस पलायन हुनु हो,’ उनले भने। पत्रकारलाई पलायन हुनबाट रोक्न सबैले साथ र सहयोग गर्नुपर्ने भन्दै उनले महासंघ र जिल्ला शाखाले आपत्कालीन कोष खडा गरेको जानकारी गराए। राज्यले मिडियालाई परेको समस्या र पेशागतरुपमा पत्रकारलाई परेका समस्या समाधानका लागि श्रमजीवी पत्रकार ऐनको पूर्णपालना भए/नभएको अनुगमन गरेर पालना गराउनुपर्ने उनले बताए।
नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश बिष्टले नेटवर्कले प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएको अवस्थामा त्यसलाई पुष्टि गरी रेकर्ड गर्न सुझाव दिए। महासंघले दुई हजारभन्दा बढी पत्रकारलाई प्रत्यक्ष टेलिफोन गरी उनीहरुको अवस्थाबारे सर्वेक्षण गरिरहेको महासचिव बिष्टले बताए। शाखा अध्यक्षलाई २५ वटा प्रश्न पठाएर जवाफ माग्ने काम महासंघले गरिरहेको छ।


























