साउन १९ । हरेक चाडपर्वका आफ्नै विशेष महत्व छन्। चाडपर्व अनुसार खानेकुरा फरक हुन्छन्। परम्परा देखि चलिआएको चाडवाडमा विशेष तरीकाले मनाउने गरिन्छ। हिन्दु धर्म अनुसार साउनमा पर्ने चाड हो, जनै पुर्णिमा। जनै पुर्णिमामा ज्वाई चेलालाई बोलाएर मिठो मसिनो खान दिने चलन छ। बिहान उठेर स्नान गरी मन्दिर जाने, पुजा अर्चना गर्ने, पुरोहितले मन्तरेको जनै लगाई हातमा डोरो बाध्ने चलन छ।
जनै पुर्णिमा सम्बन्धि केही सामाजिक, सास्कृतिक र केही वैज्ञानिक रहस्यको साथै महत्व पनि। जनै पुर्णिमामा खाने विशेष गरी झोलिलो खानेकुरा हो गेडागुडी। यसमा चना, केराउ, मटर, राजमा, बोडी, भटमास, मुगी, दाल, सिमी लगायतका ९ थरिका गेडागुडीको मिश्रणलाई भिजाएर कम्तीमा पनि १२ घन्टा राखेपछि टुसा अंकुराउन थालपछि पकाएर खान योग्य मानिन्छ। लामो समय भिजाएर टुसा आएपछि पकाएको परिकारलाई क्वाँटी भनिन्छ। टुसा पलाएका गेडागुडी मानव स्वास्थ्यको लाागि निकै हितकर हुन्छ। क्वाँटीमा भरपुर मात्रामा प्रोटिन पाउनुको साथै भिटामिन र मिनरल्सको पनि श्रोत हो।
क्वाँटी–हाम्रो शरीर स्वस्थ्य राख्नको लागि विभिन्न पोषक तत्वलाई सन्तुलनमा राख्न जरुरी छ। पोषक तत्व खानेकुराको माध्यमबाट नै प्राप्त हुन्छ। त्यसकारण हाम्रो शरीरमा स्वस्थ आहारको आवश्यकता पर्छ। सन्तुलित तथा पौष्टिक आहार मध्ये गेडागुडी पनि प्रमुख हो।
गेडागुडी हाम्रो शरीरलाई एक दिनमात्र नभई दिनहुँ आवश्यकता पर्छ। तर मानिसहरु वर्ष दिनमा एक पटक आउने चाड जनै पुर्णिमामा मात्र खाने गर्छन्। गेडागुडीमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ। शरीरलाई शारीरीक श्रम गर्दा आवश्यक पर्ने अतिरिक्त उर्जा गेडागुडीले दिनुका साथै प्रोटिनले मांसपेशीलाई स्वस्थ्य राख्ने काम पनि गर्छ।
नेपाल कृषि प्रधान सम्बन्धि देश हो। अझै पनि धेरै मानिसहरुको पेशा कृषि हो। असार महिना वर्षातको समयमा खेतमा धान रोप्दा पसेको चिसो भगाउन क्वाँटी खाने चलन छ। वर्खाभरी काम गरेर अब त बाचियो भनेर खुशी भई मनाउने चाड जनै पुर्णिमा हो भने जनै पुर्णिमा वा श्रावण शुक्ल पुर्णिमामा खाने परिकार क्वाँटी हो। क्वाँटी जनै पुर्णिमाको विशेषता नै हो।
क्वाँटीका फाइदा
- क्वाँटी आफैमा शक्तिवर्दक एवं पौष्टिक तत्वले भरिपुर्ण एक परिकार हो यसका फाइदाहरु धेरै छन्। यसमा ‘भिटामिन बि’ मा पाइने सबै तत्व पाइन्छन्।
- क्वाँटीले कब्जियतको समस्यालाई कम गर्छ।
- रोग प्रतिरोधात्मक क्षमता बृद्धि गराउछ।
- रक्तसञ्चार र स्नायु प्रणालीमा फाइदा पुग्छ।
- मधुमेह तथा पाइल्सका समस्यालाइृ कम गर्ने।
- मानिस बुढोे हुने गतिमा कम गरी मानिसलाई सुन्दर बनाउछ।
- यसले पेटमा अनावश्यक वायु बनाउँदैन।
- रोगी, बृद्धमा हुने कुपोषण हुनबाट कम गर्छ।
- यसको नियमित सेवनले स्मरण शक्ति बृद्धि हुन्छ।
- क्वाँटीले मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ।
- गेडागुडीमा हुने सबै पौष्टिक तत्व शरीरले लिन सक्ने भएकोले सुन्दरतामा पनि निखार ल्याउछ।
- कसैलाई युरिक एसिडको समस्या छ भने गेडागुडी कम खानुपर्छ। अत्यधिक र अनियन्त्रित रुपमा भने क्वाँटीको सेवन गर्नुहुँदैन, त्यसले मिर्गौलालाई हानी गर्छ।
























