काठमाडौं, साउन ५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी समूहका नेताहरुलाई आफ्नै निवास खुमलटार बोलाएर छलफल गरिरहेका छन्। आफ्नै समूहका नेताहरुसँग सशंकित हुन थालेपछि प्रचण्डले एकीकृत गर्न सोमबार बिहान ८ बजे छलफलका लागि बोलाएका हुन्।
माओवादी समूहकै कतिपय नेताहरुले वरिष्ठ नेता माधव नेपालसँग मिल्नु पर्छ भनेर लबिङ गर्दै आएका छन् भने कतिपय नेताहरुले प्रधानमन्त्री केपी ओलीसँग सहकार्य गरेर जानु पर्ने मत राख्दै आएका छन्। आफ्नै समूहका नेताहरुको तानातानमा परेपछि अध्यक्ष प्रचण्डले एकीकृत धारणा बनाउन माओवादी समूहका नेताहरुलाई बोलाएर छलफल गर्दै आएका छन्।
प्रचण्डले बोलाएको छलफलमा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री जनार्दन शर्मा र स्थायी कमिटी सदस्य लेखराज भट्टले भने अनुपस्थित भएको खुलमरटार स्रोतले जनाएको छ। थापा र शर्माले पार्टी एकता जोगाउन प्रधानमन्त्री ओलीसँग सहकार्य गरेर जानु पर्ने मत राखेका छन्।
तत्काल माधव नेपाल पक्षसँग मिलेर जाँदा उपयुक्त नहुने भन्दै ओलीसँग सहकार्य गर्न दुबै नेताले लबिङ गर्दै आएका छन्। त्यैसैले प्रचण्डले बोलाएको भेलामा थापा र शर्मा दुबै अनुपस्थित छन्। तर, भट्ट प्रचण्डलाई पुरै छोडेर ओली क्याम्पतिर गइसकेको पूर्वमाओवादी समूहका नेताहरु बताउँछन्।
अध्यक्ष प्रचण्डले भट्टलाई भन्दा स्थायी कमिटी सदस्य भीम रावललाई च्याप्न थालेपछि भट्टले प्रचण्डको साथ छोडेको बताउने आंकलन गरिएको छ। पार्टी सचिवालयमा अध्यक्ष प्रचण्डसहित थापा, प्रवक्ता नायणणकाजी श्रेष्ठ मात्रै हुन् भने स्थायी कमिटीमा अध्यक्षसहित १९ जना पूर्वमाओवादी नेता छन्।


























