काठमाडौं, साउन ४ । मोडल तथा गायक दुर्गेश थापाले ‘बीच बीचमा ३’ बजारमा ल्याएका छन्। केही हप्ताअघि ‘बीच बीचमा २’ सार्वजनिक गरेका दुर्गेशले यो गीत शनिवार युट्युबमार्फत रिलिज गरेका हुन्।
तीजको भाकामा तयार पारिएको यो गीतमा नेपालको राजनीतिप्रति व्यङ्ग्य हानिएको छ। गीतमा ‘बेसार’ शब्दलाई पनि व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले बेसारले कोरोना निको हुने भनेर दिएको अभिव्यक्तिको आलोचना भइरहेका बेला ‘बेसार’ शब्द प्रयोग गरेर गीत रचना गर्न थालिएको छ।
गीतको संगीत र लय बसन्त थापाले तयार पारेका हुन् भने दुर्गेश थापाले गाएका हुन्। यस्तै संगीत संयोजन कृष्ण बिकले गरेका हुन्।
इनाक्षी इन्टरनेटमेन्टले तयार पारेको अडियो तथा भिडियोलाई काजिल श्रेष्ठले निर्देशन गरेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन्।
भिडियोमा दुर्गेश थापाका अलावा जीबी चिरन, काजिस श्रेष्ठ, जीवन क्षेत्री, लोमस शर्मा, सन्तोष बानियाँ र प्रेम खड्काले अभिनय गरेका छन्।


























