काठमाडौं, असार ३१ । सरकारले पर्साको ‘अयोध्यापुरी’ मा पुरातात्विक तथ्य पत्ता लगाउन उत्खनन गर्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा अेलीले अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ भएको दावी गरेपछि पुरातत्व विभागले चासो बढाएको हो। अब त्यहाँ अध्ययन र पुरातात्विक खोज सुरु गर्ने विभागको तयारी छ।
‘माथिबाट हामीलाई निर्देशन आउनासाथ हामी अयोध्यापुरीमा उत्खननको लागि प्रक्रिया अघि बढाउँछौं,’ एक अधिकारीले भने, ‘प्रधानमन्त्रीले बोल्नुभएपछि यसबारे अनुसन्धान गर्नैपर्ने अवस्था आएको छ।’
विभागका अनुसार अयोध्यापुरीको उत्खनन अघि बढाउन थप बजेट चाहिन्छ। हाल विभागसँग भएको बजेटबाट काम अघि बढाउन नसक्ने भएकाले थप बजेटको व्यवस्था गरेर अयोध्यापुरीका क्षेत्रमा अध्ययन अनुसन्धान र प्रमाणहरुको संकलनको काम गर्न सकिने उसको राय छ।
अहिले बाहिर आएका प्रमाणहरु आप्रामणिक रहेको भन्दै विभागका अधिकारीहरुले अयोध्यापुरीमा उत्खनन गरेपछि मात्रै भगवान रामको ‘जन्मभूमि’ थियोरथिएन भन्ने स्पष्ट हुने बताउँछन्।
हाल अयोध्यापुरी क्षेत्रमा वाल्मीकि आमश्र छ। त्यहाँ रहेको एउटा गुफासहित विभिन्न पुराना सम्पदालाई श्री रामसँग जोडेर चर्चा गरिन्छ। स्थानीय तहले पर्यटन प्रवर्द्धनका लागि बजेट दिने गरेको छ। तर यो क्षेत्रको पुरातात्विक महत्वबारे अहिलेसम्म खोज अनुसन्धान भएको छैन।


























