असार ३१ । अमेरिकामा परीक्षण गरिएको पहिलो कोभिड–१९ भ्याक्सिन (खोप) बाट मानिसको प्रतिरक्षा प्रणालीमा वैज्ञानिकहरूले अपेक्षा गरेअनुसारको फाइदा पुगेको छ।
अब यो खोपको परीक्षण (ट्रायल) गर्न बाँकी छ। अमेरिकाका शीर्ष विशेषज्ञ डा.एन्थोनी फाउचीले समाचार एजेन्सी एसोसिएटेड प्रेससँग भनेका छन्, “तपाईंले जतिसुकै छाटकाट गरे पनि यो एक राम्रो खबर हो।”
बीबीसीले ‘न्युयोर्क टाइम्स’मा प्रकाशित समाचार उद्धृत गर्दै नेसनल इन्स्टिट्युट्स अफ हेल्थ र मोडेरना इन्कमा डा। फाउचीका सहकर्मीहरूले उक्त खोप विकसित गरेको जनाएको छ।
अब जुलाई २७ मा यो खोपको सबैभन्दा अहम् चरण सुरु हुनेछ। ३० हजार मानिसहरूमा यसको परीक्षण गरिने भएको छ। परीक्षणमा खोप साच्चै कोभिड–१९ बाट मानव शरीर बचाउन सक्छ कि सक्दैन भन्ने यकिन गरिने बीबीसीले जनाएको छ।
मंगलबार शोधकर्ताहरूले ४५ मानिसमा गरिएको परीक्षणको नतिजाको व्यग्र प्रतीक्षा गरिएको छ। रिसर्च टिमले‘न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’ मा खोप लिने भोलेन्टियरको रगतमा कोभिड–१९ बाट निको भएका बिरामीको शरीरमा पाइने जति नै एन्टिबडी पाइएको उल्लेख गरेको छ।
खोपको अन्तिम नतिजा कहिले आउँछ भन्ने एकिन नभए पनि सरकारले यो वर्षको अन्त्यसम्म ट्रायल पूरा गरिने अनुमान गरेको छ। खोप विकसित गर्ने प्रक्रिया हेर्दा यो ‘रेकर्ड स्पिड’ हो।
यो खोपलाई महिना दिनको अवधिमा दुई डोज दिइने र यसको कुनै गम्भीर ‘साइड इफेक्ट’ नभएको बताइएको छ। तर, शोधमा सहभागी अधिकांश शोधकर्ताहरूले फ्लुजस्तो ‘रिएक्सन’ दर्ज गरेका छन्। जुन अन्य खोपमा हुनु सामान्य भएको समाचारमा उल्लेख छ।
खोप लगाएपछि टाउको दुख्ने, चिसो महसुस हुने, ज्वरो आउने र खोप लगाएको स्थानमा दुख्नु सामान्य भएको पनि समाचारमा जनाइएको छ। एजेन्सी


























