चितवन । भरतपुर विमानस्थल विस्तारको लागि नेपाली सेनाको कालीबहादुर गणलाई दियालो बंगलामा सार्ने निर्णय भएको छ। मंगलबार भरतपुर महानगरपालिका जिल्ला प्रशासन कार्यालय चितवनलगायत सरोकारवाला निकायसहितको संयुक्त बैठकबाट विमानस्थल विस्तारको लागि नेपाली सेनाको ब्यारेक हटाउने निचाेड निस्किएकाे हो। ब्यारेकमा रहेको घोडा प्रजनन् केन्द्रलाई भने ठिमुरा, गणेशस्थान वा भतेरीमध्ये कुनै एक ठाउँमा स्थानान्तरण गर्ने निर्णय भएको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बताइन्।
‘मंगलबार महानगरकी मेयर रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलगायत जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखबीचको छलफलबाट भएको निर्णयलाई जानकारीका लागि मन्त्रालयमा पठाउने उनले बताइन्। लामो समयदेखि भरतपुर विमानस्थल साँघुरो भएको भन्दै विस्तारको प्रयास भइरहेकोमा यसपटक भने केही आशालाग्दो काम हुने संकेत देखिएको छ।
रेस्क्यु विमानकाे उडान
काेराेना राेकथामका लागि सरकारले लकडाउन गरेपछि बन्द भएकाे भरतपुर विमानस्थलमा मंगलबार पहिलाेपटक ‘रेस्क्यु’ उडान भएकाे छ। नवलपुर दाउन्नेकी सुत्केरीकाे लागि चार्टर्ड गरिएकाे तारा एयरकाे विमान भरतपुर विमानस्थलमा आएकाे विमानस्थलका प्रमुख पवन गाैतमले जानकारी दिए। उनका अनुसार एकजनाकाे लागि चार्टर्ड गरेकाे विमानबाट सुत्केरी बाेकेर काठमाडाै गएकाे हाे।


























