चितवन । भानु जयन्तीको अवसरमा अर्बिट स्कुल भरतपुर ५ ले आयाेजना गरेकाे ‘खुला राष्ट्रिय अनलाइन रामायण एवं कविता वाचन’ प्रतियोगिता-२०७७ मा रामायण वाचनतर्फ महेश संस्कृत गुरुकुलम् देवघाटका प्रवीण पराजुली र कविता वाचनतर्फ ‘खटिया’ शीर्षकमा कविता सुनाएका खजुरा बाँकेका विदिर्ण विवेकले प्रथम स्थान हासिल गरेका छन्।
आदिकवि भानुभक्त आचार्यको २०७औं जन्मजयन्तीलाई केन्द्रीत गरेर आयाेजना गरिएकाे प्रतियाेगितामा रामायण वाचनतर्फ वेष्ट पाेइन्ट कलेज काठमाडाैंका श्रीकृष्ण न्याैपाने द्वितिय र ज्ञानदर्शन इङ्लिस बाेर्डिङ स्कुल भरतपुरका निश्चल अधिकारी तृतीय भएका छन् भने कविता वाचनतर्फ ‘भानु तिम्राे घाँसी मुग्लान गएकाे छ’ शीर्षकमा कविता सुनाएका ललितपुरका नवराज आचार्य द्वितीय र ‘नेपाल आमा रुँदा’ शीर्षकमा कविता सुनाएका महेश संस्कृत गुरुकुलम देवघाटका सुरेश गाैतम तृतीय भएका छन्।
दुवै विधातर्फका विजेताहरुमा प्रथम हुनेले दुई हजार ५०० रुपैयाँ र प्रमाणपत्र र द्वितीय पुरस्कार एकहजार ५०० रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन्। उत्कृष्ट दुई कविता फायर वर्ड्स डेली र प्रदेश दैनिकमा प्रकाशन गरिने आयाेजकले जनाएकाे छ। ‘स्रष्टाको सम्मान गरौं, साहित्यको सेवा गरौं’ भन्ने मूल नाराका साथ आयाेजना गरेकाे प्रतियाेगितामा अर्बिटले रामायणका साथै नेपाली भाषामा कविता वाचन प्रतियाेगिता आयाेजना गरेकाे हाे। प्रतियोगिताकाम लागि नेपाल संस्कृत विश्वविद्यालयका सह-प्राध्यापक डा मतिप्रसाद ढकाल, कवि, पत्रकार तथा व्यवसायी लेखराम सापकाेटा, कवि तथा पत्रकार राजेन्द्र ओझा र कवि सुशान्त थापाले निर्णायककाे भूमिका निभाएका थिए।


























