चितवन, असार २९ । एक दर्जनभन्दा बढी स्थानमा गएको साना–ठूला पहिरोको कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ।
सोमबार बिहान नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत छुट्टाछुट्टै स्थानमा गएको पहिरो हटाएपछि सडक पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) दयाकृष्ण भट्टले बताएका छन्।
प्रहरी निरीक्षक भट्टका अनुसार सेती दोभान, पन्ध्र किलो, सत्र किलो, गाईघाट, चार किलो लगायतका स्थानमा ठूला पहिरो गएपछि सडक अवरुद्ध भएको थियो। यसका साथै, अन्य ६ स्थानमा गएको साना पहिरोहरु हटाएपछि सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
यस्तै, बिहान सत्र किलोमा १.५ फिट पिच सडक त्रिशूली नदीतिरको भागमा भासिएकोले एकतर्फी रुपमा मात्रै सडक सञ्चालन भएको थियो। प्रहरीले उक्त स्थानमा पनि सडक मर्मत भएको र सवारी आवागमन सुचारु भएको जनाएको छ।


























