चितवन, असार २८ । अभिनेत्री तथा निर्देशक दीपाश्री निराैलाले एक टेलिभिजन च्यानलमा अन्तरर्वार्ता दिएपछि आएकाे विवादबारे केदार घिमिरे (माग्नेबूढा)ले मुख खाेलेका छन्। दीपाश्री निराैलाकाे बचाउ गर्दै चर्चित हाँस्यकलाकारकाे परिचय बनाएका माग्नेबूढाले आफ्नाे फेसबुक पेजमा लामाे प्रतिकृया लेखेका छन्।
के लेखे त माग्नेले ?
आदरणीय दर्शकलाई मेरो अनुरोध। विगत केही दिनदेखि निरन्तररुपमा निर्देशक र कलाकार दीपा दिदीमाथि तल्लो स्तरका गालीगलौज् भइरहेका छन्। हो, दिदीको गल्ती थियो, माफी पनि मागीसक्नुभयो। म पनि महानायक राजेश दादासँग व्यक्तिगतरुपमा माफी माग्दछु।
कुन गल्तीकाे सजाय कति भन्ने पनि त होला नि। छिमेकीको बच्चाले सागबारी कुल्चेछ, खुट्टा भाँचेर पठाइदिनेत ? दीपा दिदीको पेटमा पाप छैन, तर जिब्रो चिप्लेको चाहिँ पक्कै हो। अघिपछि राजेश दादाको बारेमा सकारात्मक कुरा गर्ने मान्छे, त्यो दिन दिदीको ठूलै दशा रैछ। उहाँ मनको दयालु हुनुहुन्छ, वर्षेनी १५ जना गरिब बच्चाहरुको स्कुल फि तिरिदिनुहुन्छ। कोही कलाकार प्राविधिकको दुःखमा पुगिहाल्नुहुन्छ, भलै बैगुण पनि होलान्।
गल्ती मान्छेबाटै हुने हो, सच्चिएर अगाडि बढ्ने मौका दिनुहोस्। अर्को कुरा, केही गल्ती नहुँदा पनि ‘छ माया छपक्कै’को ट्रेलर रिलिज हुँदा सुरुमै करिब १२ सय नेगेटिभ कमेन्ट आए, (यिनीहरुको फिल्म् फ्लप् भैहालोस्’, जोकरहरुको फिल्म कसले हेर्छ र ? आदी इत्यादि। यही कारणले म झण्डै दोस्राेपटक डिप्रेशनमा गएको थिएँ) वर्षभरी मेहनत गरेर बनाएको फिल्म फ्लप् हुँदा कुन तत्त्वलाई फाइदा पुग्दो रै’छ? मैले अहिलेसम्म बुझ्न सकेको छैन।
त्यो तत्त्व (जो फेक आइडिसहित कमेन्टमा हाजिर हुन्छन्)सँग सम्बन्धित व्यक्तिलाई त मेरो भन्नु केही छैन, जो साँच्चै भगवान् जस्ता दर्शक हुनुहुन्छ, कृपया आलोचना नै गर्नुपरे पनि सभ्य तरिकाले गरिदिनुहोला भनी अनुरोध गर्दछु। छक्कापञ्जा टिमबाट माग्ने निकालौं भन्ने कुरा पनि आएको रै’छ, हाम्रो टिममा सबै लेखक, निर्देशक छौं, आफैं आफैं छुट्टै चलचित्र पनि बनाउन सक्छौं, तर छुट्टा छुट्टै चलचित्र बनाउँदा कमजोर नबनोस्, हलमा आएका दर्शक निरास भएर नफर्किउन् भनेर एक आपसमा मिल्छौं।
नेपाली चलचित्रमा सबै कुरा अन्तर्राष्ट्रिय स्तरको छ, एउटै कुराको कमी छ त्यो हो स्क्रिप्ट, त्यही स्कृप्टको लागि अरु टिममा पनि धेरै धेरै साथीहरु एक आपसमा मिल्न जरुरी देखिन्छ। तपाईंहरुले मलाई व्यक्तिगत् रुपमा गर्नुभएको अगाध् माया र स्नेह शिरमा राखेको छु। केही गल्ती लेखेको भए तपाईँ पनि माफ गरिदिनुहोला। जय माफ दिवस। जय नेपाली चलचित्र।


























