लन्डन, असार २८ । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या र संक्रमणको दर उल्लेख्य रुपमा कमी हुँदै गएको छ। संघका अनुसार जम्मा कोराना संक्रमित मध्य ९२ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन्। शनिवार साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जना मध्ये २७ हजार ३ सय ६२ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ।
संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अरबलगायतका देशमा रहेका नेपालीहरुमा सो साता कोरोना संक्रमण दर सामान्य रुपमा बृद्धि भएको छ। संघका अनुसार नेपालसहित कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउनेको संख्या १ सय ८१ पुगेको छ भने ४६ हजार ३ सय ४६ जनामा संक्रमण फैलिएको छ। ती मध्ये ३५ हजार ८ सय ४ जना कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ।
यसअघि गतसातासम्म १४ देशमा संख्या १ सय ४३ जना नेपालीको विदेशमा कोरोनाका कारणले ज्यान गएको छ। नेपाललगायत मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमण जारी रहेको प्रति एनआरएनए स्वास्थ्य समितिले चिन्ता व्यक्त गर्दै स्थानीय सरकारले जारी गरेका स्वास्थ्य सम्वन्धी सूचनाहरुलाई कडाईका साथ पालना गर्न समितिले आग्रह गरेको छ। रासस























