चितवन । कोरोना भाइरस रोकथामको लागि नेपालमा २०७६ चैत ११ देखि जेठ ३२ सम्म लकडाउन रह्यो। अहिले पनि पूर्ण रुपमा सहज भने भइसकेको छैन। इतिहासमै पहिलोपटक लकडाउनको सामना गरेका हामी नेपालीले यसबाट धेरै कुरा सिकेका छौँ। यही क्रममा चितवनका पत्रकार विनोदबाबु रिजालले भने लकडाउनको समयमा भएका गतिविधिलाई समेटेर पुस्तक प्रकाशन गर्ने तयारी गरिरहेका छन्। ‘एकान्तबास’ नाम दिइएको उक्त पुस्तकमा लकडाउन अवधिभरका सबै घटनाहरुलाई संग्रहित गरेका छन्।
कोरोना भाइरस र यसले निम्त्याएको लकडाउन नै जीवनकालमा भोगेको सबैभन्दा अविष्मरणीय क्षण भएकोले त्यसलाई डायरीको रुपमा पुस्तकमार्फत पाठकमाझ ल्याउने प्रयास गरिएको उनले बताए। ‘मेरोमात्रै होइन, हामी सबैका अनुभूतिको प्रतिविम्ब समेट्ने प्रयास गरेको छु,’ उनले भने, ‘यो आम नेपालीको भोगाई भएकोले यसलाई कसैले पनि भुल्न सक्दैनन्।’
उक्त पुस्तकमा २०७६ चैत ११ देखि २०७७ जेठ ३२ सम्म गरिएको कठिन लकडाउनका सन्दर्भ समेटिएका छन्। हरेक दिनका घटना र गतिविधिका टिपोटलाई निबन्धात्मक रूप दिएका छन्। हरेक सन्दर्भलाई उनले व्याख्या गरी यसका कारण र परिणामको समेत चर्चा गरेका छन्। २०६१ सालबाट पत्रकारिता थालेका रिजाल चितवनबाट प्रकाशित हुने दैनिक पत्रिका ‘कायाकैरन’का सम्पादक हुन्।
उनीसँग चितवनबाटै प्रकाशन प्रशारण हुने सञ्चारमाध्यमदेखि राष्ट्रिय स्तरका सञ्चारमाध्यमहरुमा पनि काम गरेको अनुभव छ। युरेका पब्लिकेसनले प्रकाशन गर्ने पुस्तकको वितरण भने नारायणगढको सम्पूर्ण किताबले गर्नेछ। पुस्तक यही असार अन्तिमसम्ममा पाठकमाझ आइसक्ने सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकाेटाले जानकारी दिए।


























