काठमाडौं, असार २६ । विकास निर्माणका ठेक्का लिएर समयमा काम पूरा नगरी अलपत्र छाड्ने छवि बनाएको पप्पु कन्स्ट्रक्सन पुनः कालोसूचिमा परेको छ। निलम्बित सांसद हरिनारायण रौनियारको यस निर्माण कम्पनी हाल उनका छोरा सुमित रौनियारले सम्हाल्दै आएका थिए।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय मातहतमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले हुलाकी राजमार्गको विभिन्न ठेक्का लिएको पप्पु-बाम्ती जेभीलाई समेत कालोसूचीमा राखेको छ।
तोकिएको जिम्मेवारी पूरा नगरेको तथा आयोजनाको काममा गम्भीर लापरबाही गरेको आरोप लगाउँदै उनीहरुलाई एक वर्षसम्म कालोसूचीमा राखिएको हो।

विशेष गरी सडक विभागले निर्माण गरिरहेको हुलाकी राजमार्गको काम झण्डै २ दशकदेखि अलपत्र छ। नेपाल-भारत सीमा नजिक सहज यातायात आवगमनका लागि निर्माण भइरहेको हुलाकी राजमार्गमा चरम लापरबाही हुँदै आएको छ।
हुलाकी राजमार्ग निर्देशनालयले तोकिएको निर्माण कार्य पूरा गर्न बारम्बार निर्देशन दिए पनि अटेर गरेका कारण उनीहरुलाई कालोसूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ।


























