चितवन । चितवन र आसपासका क्षेत्रका कोरोना सङ्क्रमितको उपचार गर्दै आएको भरतपुर अस्पतालले मिर्गौलाका बिरामीको डायलासिससमेत गर्न थालेको छ। नेपाल सरकारले कोभिड–१९ को उपचारका लागि पहिलो र दोस्रो तहका बिरामीको उपचार गर्न भरतपुर अस्पताल र यसको मातहतमा रहेको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई तोकेको छ। भरतपुर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा सन्तोष गुरुङका अनुसार बिहीबार मकवानपुरका ३३ वर्षिय पुरुषकाे डायलासिस गरेकाे हाे।
साउदीबाट फर्किएका ती पुरुषको तेस्रो पटक भरतपुर अस्पतालमा डायलासिस गरिएको उनले बताए। यसअघि पनि असार १८ र १९ गते भरतपुर अस्पतालै डायलासिस गरिएको उनले बताए। साउदीमा करिब २० पटक उनको डायलासिस भई सकेको उनले बताए। अस्पतालले अन्य बिरामीका लागि दुई दिन डायलासिस नगर्ने गरी व्यवस्थापन मिलाएर डायलासिस गरिरहेको उनको भनाइ छ। बुधबार राति १२ बजेबाट डायलासिस कक्ष अन्य बिरामीका लागि बन्द गरिएको छ। ती बिरामीको डायलासिस गरिएपछि उक्त कक्ष पूर्णरुपमा निर्मलीकरण थालिएको छ। शुक्रबार बिहान ६ वजेबाट अन्य बिरामीको डायलासिस शुरु गरिने उनले बताए।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार डायलासिस गर्ने प्राविधिकहरुले विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको निर्देशिकालाई पूर्णरुपमा पालना गरी उच्च सतर्कताका साथ काम गरिरहेका छन्। हाल अस्पतालमा हरेक साता, सातामा दुई पटक र महिनाको एक पटक डायलासिस गर्ने १०६ जना बिरामी रहेका छन्। उनले अस्पतालमा उपचार गर्न आउने सङ्क्रमितलाई देखिएका सबै खालका रोगको उपचार गर्न भरतपुर अस्पताल सक्षम भएकै कारण छिमेकी जिल्लाबाट पनि बिरामी आउने गरेको बताए।
अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले पहिलो र दोस्रो तहका बिरामी हेर्ने जिम्मा भरतपुर अस्पताललाई दिइएको भए पनि तेस्रो तहका बिरामी पनि हेर्न बाध्य भएको बताए। जिल्लाका अन्य अस्पतालमा सङ्क्रमण देखिएर जटिल भएका बिरामी पनि भरतपुर पठाइने गरेको उनले बताए। यहाँका दुई मेडिकल कलेजलाई पनि कोभिड उपचारमा सहभागी गराएमा बिरामी थप भएको अवस्थामा उपचारमा सहजता हुने उनको भनाइ छ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हाल भरतपुर अस्पतालमा ३७ जना कोरोना सङ्क्रमितले उपचार गराइ रहेका छन्। यसै अस्पतालमा ३८ जना उपचारपछि निको भएर फर्किएको उनले बताए। दुई जनाको भने उपचारको क्रममा मृत्यु भएको थियो। रासस


























