काठमाडौं, असार २५ । सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिका लगायतका स्थानमा बाढी पहिरोले ठूलो क्षति भएपछि उद्धार कार्य चुस्त बनाउन त्यसतर्फ उडेको नेपाली सेनाको हेलिकप्टर धुलिखेलबाटै फर्किएको छ।
सभामुख अग्निप्रसाद सापकोटा समेत रहेको हेलिकप्टर खराब मौसमका कारण अवरतरण गर्न नसकेपछि फर्केको हो।
बाढी पहिरो गएको ठाउँ सभामुख सापकोटाको निर्वाचन क्षेत्र भएकाले सभामुख बाढी पहिरो प्रभावित क्षेत्र निरिक्षणका लागि जान लाग्नु भएको थियो।
सापकोटासँगैं केन्द्रीय सदस्य माधव सापकोटा, काँग्रेस नेता विष्णु खत्री र नेकपा जिल्ला अध्यक्ष झम्क नेपाल, सभामुखका प्रेस संयोजक श्रीधर न्यौपाने त्यसतर्फ गएका थिए।
लामोसाँघु माथि ठाउँ ठाउँमा बाढी र पहिरोले सडक बगाउँदा सडक बन्द भएका कारण घाइतेहरुको उद्धार हुन सकेको छैन्। तसर्थ घाइतेहरुको हेलिकप्टरबाट उद्धार गर्न लागिएको हो।
जम्बुमा केही बाढीले बगाएका घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।


























