सञ्जय चौधरी,
चितवन, असार २२ । थारू समुदायमा विशेष रुचाइने खाना हो, घुङ्गी। थारू समुदायको मौलिक खाना मानिने घुङ्गी अब थारू समुदायमा मात्र सीमित रहेन, अहिले अन्य समुदायमा पनि लोकप्रिय हुन थालेको छ। किनकि आजभाेलि सानादेखि ठूला तारे हाेटलसम्म घुङ्गीकाे स्वाद लिनेहरु बढ्दै गएका छन्।
घुङ्गीको लोकप्रियता बढेसँगै पछिल्लो समय चितवनमा यसको माग पनि बढ्न थालेको छ।माघीलगायतका विभिन्न पर्वहरुमा लाग्ने मेला महोत्सवमा घुङ्गीको स्टल नै राखेर प्रचारप्रसार तथा परिकार बिक्री वितरण गर्न थालिएपछि व्यावसायिकरूपमा यसको माग बढेको हो। थारुकाे स्टल भनेपछि घुङ्गीलाई अनिवार्य खानाकाे परिकारकाे रुपमा लिने गरिन्छ।
चितवनका विभिन्न स्थानमा थारू समुदायले सञ्चालन गरेका होटलमा विशेष आकर्षणको रूपमा घुङ्गी रहन थालेको छ। घुङ्गीको माग बढ्दै गए पनि व्यावसायिक रुपमा उत्पादन गर्न नसक्दा मागअनुसार पूर्ति गर्न भने सकेकाे छैन। जसले गर्दा घुङ्गीकाे माग पूरा गर्न हम्मेहम्मे परिरहेको व्यवसायीको भनाइ छ।
गाउँघरमा हुने धान खेत, दलदले हिलो, पोखरी, कुलो तथा सीमसार क्षेत्रमा पाइने घुङ्गीलाई माछासँगै व्यावसायिकरूपमा पालन गर्न सके मनग्य आम्दानी गर्न सकिने भरतपुर महानगरपािलका- २५, नमुनाचोक, शुक्रनगरस्थित गाउँले खाजा घरका सञ्चालक पुष्पराज महतोले बताए। उनले भने, ‘पछिल्लो समय घुङ्गी खान रुचाउनेमा थारू मात्र छैनन्, अन्य समुदायले समेत यसलाई रुचाउन थालेका छन्, माग धेरै भएकाले राप्ती नदी, पोखरी र सेरुङ्गा भन्ने स्थानबाट घुङ्गी मगाएर व्यवसाय सञ्चालन गर्नुपरेको छ।’
यहाँ तयारी घुङ्गी प्रतिप्लेट रु १०० मा बिक्री हुने गरेको छ। घुङ्गी खानाले प्रचुर मात्रामा क्याल्सियम प्राप्त हुनुका साथै हड्डीको समस्या पनि ठीक हुने विश्वास गरिन्छ। रगतमा देखिएको सेतो रक्तको कमी, शरीर दुखेको, मर्केकोलगायतकाे उपचारमा समेत उपयाेगी मानिने हुँदा मानिसहरुले यसकाे खाेजी गर्न थालेकाे उनकाे भनाइ छ।

घुङ्गी प्राकृतिकरूपमै पाइने एक प्रकारको जीव भए पनि यो बिस्तारै लोप हुँदै जाँदा यसकाे उत्पादनमा कमी हुँदै गएको छ। किसानले खेतबारीमा प्रयाेग गर्ने विभिन्न प्रकारका रासायनिक मल र झार मार्ने औषधिलगायतका बिषादीकाे बढ्दाे प्रयाेगले घुङ्गी सङ्कटमा परेको छ। खेतमा पाइन छाडेपछि कतिपय किसानले भने माछापालनसँगै पाेखरीमा घुङ्गी पाल्न थालेका छन्।
असार/साउन महिनामा खेतमा पाइने स–साना घुङ्गी ल्याएर पोखरीमा हाल्दा माछासँगै माछाको दाना खाएर घुँगी पनि हुर्कने र कम लगानीमा धेरै उत्पादन हुने गरको छ। घुङ्गीलाई रुचाउने धेरै भए पनि यसकाे परिकार बनाउनेहरुकाे संख्या भने न्यून छ। जाे पायाे उसैले बनाउन नजान्ने हुँदा सीमित मानिसले मात्रै यसकाे परिकार बनाउने गरेकाे पाइन्छ।
कसरी बनाइन्छ त घुङ्गीकाे परिकार ?
घुङ्गी खाेजेर ल्याइसकेपछि सबैभन्दा पहिले करिब २४ घण्टा जति सफा पानीमा भिजाएर राख्नुपर्छ। घुङ्गी भिजाउने भाँडाेमा मैदा वा आँटाकाे पीठाे पनि राखिदिए घुङ्गीले उक्त पीठाे खाएर यसअघि नै खाएको माटो शरीरबाट बाहिर निकाल्न थाल्छ। शरीरको माटो सफा भएर निस्केपछि घुङ्गीको पछाडिको चुच्चोतिरबाट थोरै काट्नु पर्छ।

त्यसपछि सफा गरेर पकाउनुपर्छ। आवश्यक मात्रामा मसला, अदुवा, लसुन, नुन र खुर्सानीसमेतको घोलमा आधा घण्टासम्म फलामे कराईमा पकाएर घुङ्गीलाई खानयोग्य बनाइन्छ। यसरी तयार पारेको घुङ्गीलाई चुसेर त्यसभित्र रहेको प्रोटिनयुक्त मासुलाई तानेर खाने गरिन्छ।
मानव स्वास्थ्यको लागि स्वास्थ्यवर्द्वक मानिने घुङ्गी पछिल्लो समय अन्य समुदायले पनि खान थालेका छन्। माछा, मासु जस्तै घुङ्गीलाई पैसा तिरेर खानेको संख्या वृद्धि भएसँगै यसको कारोबार समेत फष्टाएको छ। अहिले काेराेना कहरका कारण हाटबजार बन्द भएका छन्। नत्र यसकाे सिजनमा प्रत्येक हाट बजारमा तरकारीसँगै घुङ्गी पनि राखेर बेच्न थालेका छन्। चितवनकाे हाटबजारबाट प्रतिकिलाे एकसयदेखि १५० रुपैयाँसम्ममा बिक्रि हुने गर्दछ।


























