काठमाडौं, असार २० । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद निकै पेचिलो बनेको भन्दै अप्रिय स्थिति आउन सक्नेबारे मन्त्रीहरुलाई जानकारी गराएका छन्।
मन्त्री र राज्यमन्त्रीहरुलाई शनिवार साँझ बालुवाटारमा बोलाएर ओलीले पार्टीको विवाद निकै जटिल बनेको बताएका हुन्।
‘देशको परिस्थितीबारे बुझिराख्नु भएको छ, पार्टी एकतामा गम्भीर संकट आएको छ। सरकारले जनहित र राष्ट्रियताको पक्षमा काम गरिरहेको समयमा एकपक्षीय दबाब सिर्जना गरेर दुवै पद छाड भन्ने काम भयो। सरकारले के गल्ती गरेको छ मैले पद छाड्ने ?’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक मन्त्रीले भने।
ओलीले आफू पार्टी एकताप्रति प्रतिबद्ध रहेपनि त्यो आफ्नो मात्र वशमा नरहेको बताएका थिए। ‘पार्टी एकता कायम रहनुपर्छ भन्नेमा म दृढ छु, एकता कायम रहने नरहे कुरा साथीहर (अन्य नेता) मा निर्भर गर्छ। पार्टी फुटने स्थिती नआओस् भन्नेमा म चिन्तित छु,’ उनले मन्त्रीहरूसँगको बैठकमा भनेका थिए।
ओलीले विश्वासको वातावरण बनोस भन्ने सबै कार्यकर्ताको चाहना रहेको र बन्न सक्छ कि भन्ने संकेत पनि देखिएको भन्दै मन्त्रीहरूलाई आश्वस्तसमेत पार्ने प्रयास गरेका थिए।
ुएकताको वातावरण नबन्दा मैले मात्र चाहेर के हुन्छ ?’ ओलीले पार्टीमा दुर्घटना आउनेतर्फ संकेत गरेको अर्का एक मन्त्रीले बताए।
‘पार्टी एक नरहन पनि सक्छ तपाइहरुलाई परिस्थितीको बारेमा सबै जानकारी छ,’ ती मन्त्रीले प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै भने, ‘सरकारले राम्रो काम गर्दा गर्दै पनि पार्टीकै नेताहरु सरकारविरुद्ध लाग्नुभयो।
ओलीले पार्टी अप्ठेरोमा पर्ने संकेत गरेपछि मन्त्रीहरु घनश्याम भुसाल र वर्षमान पुनले पार्टीलाई बचाउनु पर्ने भन्दै एकताविरोधी कुरा नगर्न आग्रह गरेका थिए। अन्य कतिप्या मन्त्रीले भने सवाल जवाफ गरेनन्। मन्त्रीहरुसँगको भेटअघि प्रधानमन्त्री ओलीले शनिवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए।


























