असार १७ । अमेरिकामा कोरोनाभाइरस संक्रमण लगातार बढिरहँदा राष्ट्रपति डोनल्ड ट्रम्प चीनप्रति आक्रोशित छन्।
स्वास्थ्य अधिकारीहरूले महामारीमाथि पूर्ण नियन्त्रण गर्न आफूहरू असमर्थ रहेको भनी चेतावनी दिएका छन्।
ट्रम्पले एक ट्वीट गर्दै लेखे, ‘सारा संसारमा महामारीको भद्दा रूपमा फैलिरहँदा अमेरिकालाई पनि ठूलो क्षति पुगिरहेको अवस्थामा चीनप्रति मेरो आक्रोश झनझनै बढिरहेको छ। मानिसले यो देख्न सक्छन् अनि म पनि यसको अनुभव गर्दैछु।’
कोरोनाभाइरस महाव्याधिका लागि ट्रम्प बेइजिङलाई दोषी ठहर्याइरहेका छन्। दुई देशबीच व्यापारयुद्ध चलिरहँदा कोरोनाभाइरसले झनै तनाव बढाएको छ।
अमेरिकामा संक्रमण घट्ने कुनै संकेत देखिएको छैन। सरुवा रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले मंगलवार संसद्समक्ष बोल्दै कामकुरो गलत दिशातिर अघि बढिरहेको र यसमा नियन्त्रण कायम गर्न आफूहरू विफल रहेको बताए।
अमेरिकी सरकार र जनताले महामारी रोकथामका लागि आवश्यक कदम नउठाएमा अमेरिकामा प्रत्येक दिन एक लाख केस देखापर्ने चेतावनी फाउचीले दिए।
चीनले चाहिँ ट्रम्प प्रशासनमाथि महामारीको राजनीतीकरण गरेको आरोप लगाएको छ। अमेरिकाले आफ्नो देशमा फैलिएको महामारीलाई सम्हाल्न नसकेकाले ध्यान भड्काउनका लागि यस्तो आरोप लगाएको चीनको भनाइ छ। अमेरिकी अधिकारीहरूले चीनसँग पारदर्शिता अपनाउन माग गरिरहेका छन्। एजेन्सी


























