काठमाडौं, असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र समेटेर नक्सा जारी गर्ने र संविधानमा अंकित गरेबापत् सरकारबाट हटाउन लागिएको बताएका छन्।
मदन भण्डारीको ६९औं जन्मजयन्तीका सन्दर्भमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा चीनसँग पारवहन सम्झौता गरेपछि पहिलो कार्यकालमा हटाइएको स्मरण गरे।
“बहस चलेको छ। अहिलेको अहिले केपी ओलीलाई नहटाइ हुँदैन। पहिले यहाँहरूलाई सम्झना होला, चीनतिरबाट ट्रान्सपोर्ट, ट्रन्जिट एग्रिमेन्ट गरेपछि सरकार ढल्या थियो हामीसँग बहुमत थिएन,” उनले भने। अहिले त्यही सपना देखिएको उनको भनाइ थियो।
“संसिवधान संशोधन भएर नक्सा जारी भयो। अब हटाइहापर्छ, यस्तो अपराध गर्ने केपी ओलीलाई। बाहिरबाहिर भन्न नसक्ने, भित्रभित्र कुरा हो त्यो। यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउनुपर्छ,” उनले आरोप लगाए।
दिल्लीका सञ्चारमाध्यमहरू हेर्दा सबैकुरा निर्देश गर्ने उनको भनाइ थियो। उनले आफ्नो नेतृत्वको सरकार हटाउन राजदूतहरू सक्रिय भइरहेको, होटलहोटलमा गतिविधि भइरहेको बताए। तर, कस्तो गतिविधि भइरहेको छ भनेर प्रष्ट पारेनन्।
“तर नेपालको राष्ट्रियता यति कमजोर छैन, नक्सा छापेवापत, संविधानमा नक्सा सामेल गरेवापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भनेर कसैले सपना देख्या छ भने आजको राष्ट्रियता त्यति कमजोर छैन। यो नसोचे पनि हुन्छ। त्यसकारण यो भ्रम हो। कोसिस गर्नेलाई गर्न दिउँ। हिजोको जस्तो होइन,” उनले भने।
प्रधानमन्त्री ओलीले ‘कसैले प्रधानमन्त्री बन्न हतार नगरे पनि हुन्छ र आग्रहहरू नपाले पनि हुन्छ’ भनेर पार्टीभित्रका असन्तुष्ट पक्षलाई जवाफ पनि दिए।


























