काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्रै चट्याङ लागेर तीनजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुरु गरेको दैनिक विपद बुलेटिनले पछिल्लाे २४ घण्टामा देशका विभिन्न स्थानमा परेकाे चट्याङका कारण तीनजनाकाे मृत्यु भएकाे र चारजना घाइते भएकाे जनाएकाे हाे। शुक्रबारबाट शुरु भएकाे दैनिक बुलेटिनअनुसार देशका विभिन्न स्थानमा भएकाे आगलागीमा परी तीनजना घाइते भएका छन्।
विपद् बुलेटिनबाट प्राप्त थप विवरणअनुसार कोशी नारायणी र यसका सहायक नदीहरुमा पानीको बहाब बढ्नेछ। कर्णाली र महाकालीमा पनि सामान्य उतारचढाव हुने, कन्काई, कमला, वाग्मती, राप्ती, बबईलगायतका नदीहरुमा पनि बहाव बढ्ने जनाइएको छ। प्राधिकरणले त्यस आसपास र सहायक नदीहरुमा सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ। प्राधिकरणले शुरु गरेको ‘विपद् वुलेटिन’ दिनभर कहाँ–कहाँ कस्ता–कस्ता घटना भए, कहाँ–कहाँ जोखिम छ, वर्षा र बाढीको जोखिम कुन ठाउँमा छ र कहाँ बढी पानी पर्छलगायतका जानकारी समावेश छ।
प्रारम्भिक चरणमा हरेक बिहान १० बजे पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्ने गरिएको र यसलाई अझै विस्तार गर्दै लगिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए। उक्त बुलेटिन राष्ट्रिय विपद् न्यूनीकरण पोर्टल, प्राधिकरणको फेसबुक तथा ट्वीटरबाट समेत सार्वजनिक हुने जनाइएको छ।


























