हेटौंडा । मकवानपुरको दशवटै स्थानीय तहले बुधबार नीति तथा कार्यक्रम र बजेट पालिकाको सभामा पेश गरेका छन्। प्रदेशको राजधानी रहेको हेटौंडा उप–महानगरसहित सबै स्थानीय तहले बजेट ल्याएका हुन्। धेरै जसो स्थानीय तहले कृषि र स्वास्थ्य केन्द्रित भएर बजेट ल्याएका छन्।
हेटौंडाको २ अर्ब ८ करोड
हेटौंडा उप–महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ। बुधबार भएको उप–महानगरपालिकाको छैटौं नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उप–महानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले उक्त बजेट प्रस्तुत गरेकी हुन्। प्रस्तुत गरिएको बजेटमा आन्तरिक स्रोतबाट २० करोड १४ लाख ७९ हजार रूपैयाँ, राजस्व बाँडफाँटबाट ५५ करोड ३ लाख ४४ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट ८ करोड ३५ लाख ९८ हजार र संघीय सरकारको अनुदान ९८ करोड ९९ लाख तथा असार मसान्तसम्म खर्च नभई बचत भएको २६ करोड १३ लाख ११ हजार रूपैयाँ प्राप्त हुने उपमेयर लामाले बताइन्।
थाहा नगरको ८० करोड
मकवानपुरको उत्तरी क्षेत्रको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि ८० करोड ५६ लाख ३३ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ। थाहा नगरको नगरसभाको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसमेत पारित गरेको मेयर लवशेर विष्टले जानकारी दिए। नीति तथा कार्यक्रममा कृषि उत्पादन तथा पशुपालन, पर्यटन प्रवर्द्वन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारका क्षेत्रहरूलाई समेटिएको उनको भनाइ छ।
नगरपालिकाले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ। बाँझो जग्गालाई उत्पादनमा प्रयोग गर्न गरिने, उन्नत जातका बीऊ विजन तथा मल खाद्यको समेत व्यवस्था गरिने, आधुनिक औजारको प्रयोगमा जोड दिइने र कृषि अनुदान वितरण गरिने जस्ता विषय प्राथमिकतामा राखेको छ। थाहा नगरले आयात घटाउन, निर्यात बढाई आत्म निर्भरतासहितको नीति सार्वजनिक गरेको छ। थाहानगरमा संघीय सरकारको प्रधानमन्त्री कृषि जोन परियोजना पनि कार्यान्वयनमा रहेको मेयर विष्टले जानकारी दिए।
बकैयाको ६५ करोड
मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ६५ करोड १९ लाख ६९ हजार २३० रूपैयाँको अनुमानित बजेट पेश गरेको छ। ‘समृद्ध बकैया निर्माणको मूल आधारः स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र वातावरणमैत्री पूर्वाधार’ भन्ने मूल नाराका साथ बुधबार भएको गाउँपालिकाको छैठौं गाउँ सभामा आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत भएको हो।
सभामा गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले प्रस्तुत गरेकी बजेटमा नेपाल सरकारबाट ५० करोड १० लाख २२ हजार २३० रूपैयाँ र बागमती प्रदेश सरकारबाट ८ करोड २६ लाख ८७ हजार रूपैयाँ प्राप्त भएको जानकारी दिइएको छ। त्यस्तै आन्तरिक आयस्रोत ६ करोड ८२ लाख ६० हजार हुने अनुमानसहित कूल ६५ करोड १९ लाख ६९ हजार २३० रूपैयाँको बजेट पेश गरिएको उपाध्यक्ष बोलखेले जानकारी दिएकी हुन्।
राक्सिराङको ५९ करोड
राक्सिराङ गाउँपालिकाले पाँचौं गाउँसभामा वार्षिक नीति तथा कार्यक्रमसहित ५९ करोड ७५ लाख ७ हजारको अनुमानित बजेट पेश गरेको छ। पश्चिम मकवानपुरको गाउँपालिकाले ५१ करोड बराबरको प्रस्तावित बजेट सार्वजनिक गरेको छ। गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङले ५१ करोड १५ लाख २० हजार बराबरको प्रस्तावित बजेट सार्वजनिक गरेकी हुन्।
बजेटले गाउँपालिकाको आन्तरिक राजस्व आम्दानी ३ करोड ३२ लाख हुने अनुमान गरेको छ भने चालू वर्षको ३ करोड मौज्दात रहने जनाएको छ। नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने बजेट सहित गाउपालिकाले प्रस्तावित बजेट प्रस्तुत गरेका हुन्। गाउँपालिकाले अगामी वर्ष चालू खर्चतर्फ २९ करोड ९२ लाख र पुँजीगत खर्चतर्फ २१ करोड ३८ लाख खर्च हुने अनुमान गरेको छ।
इन्द्रसरोवरको ५० करोड
यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ५० करोडको अनुमानित बजेट सार्वजनिक गरेको छ। बुधबार बसेको गाउँसभाको बैठकमा वार्षिक नीति तथा कार्यक्रमसमेत सार्वजनिक गरिएको छ। गाउँपालिकाले कृषि र पर्यटनलाई रोजगारसँग जोडेर नीति कार्यक्रम ल्याएको छ। विभिन्न पकेट क्षेत्र निर्धारण गरेर कृषि उत्पादन वृद्धि गर्ने र वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई स्वरोजगार बनाउने खालको बजेट निर्माण गरिएको अध्यक्ष जीवन लामाले जानकारी दिए।
मनहरीको ७६ करोड
मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७÷७८ को लागि कूल ७६ करोड १६ लाख ३५ हजार ४ सय २० रूपैँयाको अनुमानित बजेट बुधबार बसेको गाउँसभा बैठकमा उपाध्यक्ष मनिला विष्टले पेश गरेकी हुन्। उक्त विनियोजित रकम खर्च गर्नको लागि नेपाल सरकार वित्तीय समानिकरणबाट रू १२ करोड ५५ लाख, बागमती प्रदेश सरकार वित्तीय समानिकरण अनुदानबाट रू १ करोड ३८ लाख ४ हजार, नेपाल सरकार सशर्त अनुदानबाट १८ करोड ४४ लाख, बागमती प्रदेश सशर्त अनुदानबाट २ करोड ५४ लाख ५५ हजार, राजस्वको स्रोत बाँडफाँडबाट १५ करोड ६३ लाख ९६ हजार ४ सय २० प्राप्त हुने गाउँपालिकाले अनुमान गरेको छ।
मकवानपुर गढीमा ५९ करोड
मकवानपुरगढी गाउँपालिकाले पाँचौं गाउँसभामा ५९ करोड ७५ लाख ७ हजारको अनुमानित बजेट पेश गरेको छ। अनुमानित बजेट पेश गर्दै वार्षिक नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको छ। आयतर्फ संघीय सरकार र प्रदेश सरकार वित्तीय समानिकरण अनुदान १० करोड ९० लाख ५८ हजार प्राप्त भएको, राजस्व बाँडफाँडतर्फ १६ करोड ११ लाख ५९ हजार प्राप्त हुने अनुमान, आन्तरिक आयतर्फ २ करोड ९१ लख ३० हजार प्राप्त हुने अनुमान तथा संघीय र प्रदेश सरकार शर्सत अनुदान २२ करोड ५ लाख ६० हजार हुने अनुमान, समपुरक अनुदान ५ करोड, विषेश अनुदान रकम २ करोड ७६ लाख प्राप्त हुने अनुमानसहितको विवरण पेश गरिएको छ।
भीमफेदीको ५६ करोड
भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७÷७८ को लागि ५६ करोड ८७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको छ। बुधबार नै बसेको गाउँसभामा आगामी आवको अनुमानित बजेट र वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले प्रस्तुत गरेका उक्त बजेटमा ‘महामारीले सबै युवा गाउँघर, बाँझो जमिन बनाऔँ उर्भर’ भन्ने मूल नाराका साथ आगामी आवको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। गाउँपालिकाले आगामी आवमा रोजगारी सिर्जना, कृषि, पशुपालन, स्वास्थ्य र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिएको छ।
कैलाशमा ४३ करोडको बजेट
कैलाश गाउँपालिकाले ४३ करोडको बजेट ल्याएको छ। गाउँपालिकाले बुधबारको गाउँसभाबाट ४३ करोड ७२ लाख ५९ हजार ७ सय ४० रूपैयाँ ल्याएको गाउँपालिका अध्यक्ष टंक मोक्तानले जानकारी दिए।
बागमतीको आएन बजेट
बाग्मती गाउँपालिकाले भने बुधबार नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेन। गाउँपालिका नेपाली कांग्रेसका जनप्रतिनिधिहरूले सहभागिता नजनाउने भएपछि गाउँपालिकाले गाउँ सभा राख्न नसकेको हो।


























