मुम्बई, असार १० । कलाकार सुशान्त सिंह राजपुतको मृत्युपछि खैलाबैला मच्चिएको बलिउडमा विभिन्न आरोप तथा आलोचनाहरु आउने क्रम रोकिएका छैनन्। उनको आत्महत्यालाई लिएर बलिउडका स्टारकिड हरुविरुद्ध निशाना साधिने क्रम चलिरहेकै बेला कलाकार रणवीर कपुरको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ जसमा उनले बताएका छन् कि उनी करण जोहरको कार्यक्रम ‘कफी विथ करण’ को विरोधी हुन्।
केही समय अगाडि एआईबीसँगको अन्तर्वार्ताका क्रममा रणवीर कपूरलाई करण जोहरको कार्यक्रमको बारेमा पनि प्रश्न गरिएको थियो। उनलाई सोधिएको थियो ‘के तपाईं कफी विथ करणबाट आजित हुनुहुन्नरु’ यस प्रश्नको जवाफमा रणबीरले भने, ‘हो, म आजित भइसकेको छु, मैले यो पनि भनिसकेको थिएँ कि म यस सिजनको हिस्सा हुन चाहन्नँ, तर मलाई आउन बाध्य पारियो।’
रणवीरले थपे, ‘म र अनुष्का शर्मा त यो शोको विरुद्धमा नै उत्रन चाहन्थ्यौँ र सम्पूर्ण फिल्म उद्योगलाई नै समेट्न चाहन्थ्यौँ किनकि यो सही हैन। उनले यस शोबाट पैसा कमाउँछन्, शोमा दिएको बयानबाट हामी वर्षभरि नै निशानमा पर्ने गरेका छौँ। ह्याम्परमा पनि हामीलाई केही प्राप्त हुँदैन, हरेक पटक केवल आइफोन थमाइदिन्छन्।’ सो भिडियो थप भाइरल हुँदै गइरहेको छ। एजेन्सी


























