हेटौंडा । बुहारी हत्याको आशंकामा मकवानपुर प्रहरीले ससुरा र नन्दलाई नियन्त्रणमा लिएको छ। गत मंगलबार हेटौंडा ४ गर्दोईस्थित घरमा मृत अवस्थामा भेटिएकी सुस्मिता थापाको हत्याको आशंकामा उनका ससुरा र नन्द पक्राउ परेका हुन्। तीन दिनअघि घरको भान्छा कोठामा विभत्स अवस्थामा सुस्मिताको शव भेटिएपछि अनुसन्धानको लागि ससुरा र नन्द तानिएका हुन्। उक्त घटनाको अनुसान्धान गरिरहेको प्रहरीले हत्या पुष्टि हुने आधार भेटिँदै गएको जनाएको छ।
प्रहरीका अनुसार मृत भेटिएकी सुस्मिताको टाउकाको पछिल्लो भागमा लागेको चोटका कारण आँखामा असर पुगेको देखिएको छ भने घाँटी र अन्य भागमा समेत चोट देखिएको छ। मृत अवस्थामा भेटिएकी सुस्मिताको शव घरको भान्छामा भित्रबाट चुक्कुल लगाएको अवस्थामा थियो। हत्यालाई आत्महत्याको शंज्ञा दिन अपराधमा संलग्नले नयाँ तरिका अपनाएको हुन सक्ने हुँदा उक्त घटनालाई शुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
प्रहरीले गरिरहेको अनुसनधानले पहिलो चरणमा आर्थिक प्रलोभनलाई देखाएको छ। सुस्मिताका श्रीमानको भने ६ महिना अघि नै सवारी दुर्घटनामा परि मृत्यु भइसकेको छ। प्रहरी स्रोतका अनुसार सुस्मिताका श्रीमानको दुर्घटना विमा र जीवन विमाको ठूलो रकम सुस्मिताले नै पाउने भएर परिवारका सदस्य नै घटनामा संलग्न रहेको बुझिएको छ। घटनाको अनुसन्धानका लागि भन्दै घरमै रहेका ससुरा र नन्दले घटनाबारे थाहा नभएको बताए पनि एकै घरमा भन्छामा विभत्स अवस्थामा भेटिएको शवको बारेमा बुझ्न परिवारकै सदस्यलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रानाले जानकारी दिए।
‘घटनामा संलग्न भएको आशंकामा ५८ बर्षिय ससुरा प्रकाश थापा र २३ वर्षकी नन्द सीतालाई पक्राउ गरी ज्यान सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेकोले थप जानकारी पछि दिनेछु।’ पोष्टमार्टम रिपोर्टमा भने हत्या भएको देखिएको प्रहरी स्रोतले जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेकाले सत्यतथ्य पत्ता लागिसकेपछि पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रहरीले जनाएको छ।


























