सिड्नी, असार ३ । कोरोना भाइरसको महामारीका कारण अलपत्र परेकामध्ये करिब २४ हजार नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको निर्णयलाई स्वागत गर्दै गैरआवासीय नेपाली संघले सरकारलाई १३ बुँदे ध्यानाकर्षण पेश गरेको छ।
महामारीका कारण संसारभर अलपत्र परेका नेपालीमध्ये अधिकांश देशको अर्थतन्त्रमा एक तिहाई योगदान पुर्याउने वैदेशिक रोजगारमा संलग्न कामदारहरू रहेका तथा बाँकी मानव तस्करले अलपत्र पारेका, आफन्तलाई भेट्न गएर अड्किएका, खर्चबिहीन विद्यार्थीहरू एवम् भिजिट भिसामा रहेका व्यक्तिहरू रहेको उल्लेख गर्दै गैरआवासीय नेपाली संघले उनीहरूको उद्धार गर्र्न सरकारको ध्यानाकर्षण गरेको हो।
गैरआवासीय संघका अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभाग प्रमुख डा. बद्री केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत पेश गरिएको ध्यानाकर्षणमा नेपाल सरकारले तोकेको सामान्य समयको भन्दा पनि धेरै महङ्गो भाडा तिरेर नेपाल फर्कन असम्भव रहेको हुनाले श्रम स्वीकृति बाहेक अन्य कारणले विदेशमा अलपत्र परेका नेपालीहरूलाई पनि स्वदेश फर्काउन दूतावास तथा संघको सहकार्यमा सस्तोमा चार्टर उडान गर्ने व्यवहारिक र सहज व्यवस्था मिलाउन आग्रह गरिएको छ।
त्यसैगरी अधिकांश कामदारसँग कोरोना कहरपूर्व नै रोजगारदाताले व्यवस्था गरेको टिकट रहेको र चार्टर उडानमा फर्कदा सो टिकट खेर जाने हुनाले वैदेशिक रोजगारको मुख्य गन्तव्य देशहरूमा सीमित सङ्ख्यामा मात्रै भए पनि नियमित उडान सञ्चालन गर्न अनुरोध समेत गरिएको छ। विश्वका अधिकांश देशहरूमा नियमित उडान नै सुरु भइसकेको सन्दर्भमा त्यसो गरिएमा पुरानो टिकटको प्रयोग हुने, भाडादर कम हुने तथा नेपालमा अड्किएका अन्य कामदारहरू पनि विदेश फर्कने बाटो खुल्ने गैरआवासीय संघको भनाइ छ।
विज्ञप्तिमा मानव तस्करका कारणले विभिन्न देशमा अलपत्र परिरहेका तथा खर्चबिहीन विद्यार्थीहरुलाई सरकारी खर्चमा तुरुन्त उद्धार गर्न, क्यानाडा, युरोप तथा अफ्रिकाका धेरै देशहरूमा एउटै देशबाट जहाज नभरिने भएकोले अन्य देशसँग सहकार्य गरेर संयुक्त उद्धार उडानको व्यवस्था गर्न, फर्किने क्रममा धेरै टाढाबाट एयरपोर्टसम्म यात्रा गर्नुपर्ने व्यक्तिहरूका लागि सम्बन्धित देशमा होल्डिङ सेन्टरको प्रबन्ध मिलाइदिन, पीसीआर परीक्षणको सुविधा नभएका देशहरूबाट सम्बन्धित देशका ‘फिट टु फ्लाइट’ प्रमाण–पत्र अनुसार फिर्ता आउने व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गरिएको छ।
साथै कुवेतबाहेक अन्य देशहरूमा पनि आम माफी पाएर सेल्टरमा कुरिरहेका मजदुरलाई नेपाल फर्कने स्वीकृति प्रदान गर्न, बिना इजाजत श्रम गरिरहेका कामदारहरुलाई उक्त देशको कूटनीतिक निकायसँग सहकार्य तथा अनुरोध गरी आम माफी दिलाउने प्रबन्ध गर्न, गर्भवती, नाबालक एवं बालबालिकासहित अन्य महिला, अशक्त तथा कोरोनाबाहेक अन्य रोगले पीडित, परिवारलाई भेट्न अस्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका, क्यानाडा युरोप लगायतका देशमा आएका नेपालीहरुलाई प्राथमिकताको आधारमा उद्धार गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ।
हाल नेपालमा छुट्टीमा रहेका वैदेशिक रोजगारमा संलग्न कामदारहरुलाई फिर्ता हुन श्रम स्वीकृति तथा अन्य सुविधा प्रदान गर्न तथा वैदेशिक रोजगारका क्रममा कोरोनाबाहेक अन्य रोगले विदेशमा मृत्युवरण गरेका सयौँको सङ्ख्यामा रहेका शवलाई तुरुन्त नेपाल झिकाई आ–आफ्नो सांस्कृतिक परम्पराअनुसार दाहसंस्कार गर्नको लागि परिवारलाई हस्तान्तरण गर्न पनि विज्ञप्ति मार्फत सरकारको ध्यानाकर्षण गराइएको छ।
त्यसैगरी गैरआवासीय नेपाली संघले एकल रूपमा प्रदान गरिरहेको राहत कार्यक्रममा वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत सरकारले संघसँग हातेमालो गर्न अति आवश्यक भएकाले यसतर्फ सरकारले तुरुन्तै ठोस पहलकदमी लिनसमेत विज्ञप्तिमा अनुरोध गरिएको छ। रासस























