काठमाडौं, असार २ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय २३ पुगेको छ।
मंगलबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्ति अनुसार थप १८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या २ सय २३ पुगेको हो।
निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार गोरखाका १०, स्याङ्जाका ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला परेका छन्।
गोरखामा संक्रमण देखिएका १० जनामध्ये गोरखा नगरपालिकाका २१ देखि ५३ वर्ष उमेर समूहका ७ पुरुष र ३१ वर्षीया एक महिला तथा बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका दुई जना पुरुष छन्।
स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९ र १८ वर्षका चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै पूर्वी नवलपरासीको विनयत्रिबेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक–एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
यस्तै कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकाको ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको शर्माले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।
मंगलबार संक्रमण पुष्टि भएका १८ जना सबै भारतबाट फर्किएको जनाइएको छ। उनीहरू सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको शर्माले जानकारी दिए।



























