काठमाडौं, जेष्ठ ३२। भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्। ३४ वर्षीय सुशान्तले किन आत्महत्या गरे भन्ने पूर्ण विवरण आउन बाँकी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
सुशान्तको पछिल्लो सिनेमा सन् २०१९ मा छिचौरे प्रदर्शनमा आएको थियो। श्रद्धा कपुरसँग खेलिएको उक्त सिनेमा बक्स अफिसमा राम्रो चलेको मानिएको थियो।
सुशान्तको रीया कपुरसँग प्रेम सम्बन्ध रहेको बताइएको थियो। केही पापराजीहरुले उनीहरु शहरमा घुम्दै गरेका बेला फोटो समेत लिएका थिए। टीभी शोबाट निकै चर्चामा आएका उनी सिनेमामा फड्किएका थिए।
उनले डेब्यू गरेको सिनेमा कई पो चे थियो। उनको सबैभन्दा ठूलो अवसर ‘एमएस धोनीः अनटोल्ड स्टोरी’ थियो। पीके, केदारनाथ, दि बेचरा पनि उनले महत्वपूर्ण भूमिका निभाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
बलिउडले यसै वर्ष इरफान खान र ऋषि कपुर जस्ता अब्बल कलाकारलाई गुमाएको थियो।


























