दिल्ली, जेष्ठ ३१ । भारतिय सेनाका सेना प्रमुख एमएम नरवणेले नेपालसँगको सम्बन्ध धेरै मजबूत भएको दावी गरेका छन्।
नेपाल भारतबीच सीमा विवाद बढिरहेका बेला सेनाप्रमुख नरवणेले शनिवार देहरादुनमा बोल्दै दुवै देशवीच सांस्कृतिक संम्बन्ध सधै मजबूत रहेको भन्दै भारत र नेपालबीचको सम्बन्ध सधै बलियो हुने धारणा व्यक्त गरे।
यसअघि उनले सीमा मिचिएको भन्दै नेपालमा सुरु भएको आन्दोलनमा उत्तरी छिमेकी मुलुकको उक्साहट भएको अभिव्यक्ति दिएपछि विवादमा आएका थिए।
उनले भने ‘हामी भौगोलिक,सांस्कृतिक,ऐतिहासिक एवंम् धार्मिक कडीबाट बाँधिएका छौँ। हामी दुवै देशका जनतासमेत मजबूत सम्बन्धद्धारा जोडिएका छौं। हाम्रो नेपालसँगको सम्बन्ध सधै मजबूत रहँदै आएको छ। आगामी दिनमा समेत सम्बन्ध मजबूत रहन्छ।’
नेपालले लिपुलेख, कालापानी र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गरिसकेको छ। आजै संसदले संविधान संशोधनको विद्येयक समेत प्रतिनिधिसभाबाट पारित गर्दैछ।
उनले भारत र चीनबीच लद्दाखमा जारी गतिरोधको मामला पनि समाधान हुनेतिर अघि बढिरहेको बताएका छन्। थलसेना प्रमुखले नरवणेले चीनसँग जोडिएको सीमा क्षेत्रमा स्थिति पुरै नियन्त्रणमा रहेको बताए।


























