काठमाडौं, जेष्ठ २९ । अब लक डाउन खुलेको ३० दिनभित्र कर तिरे हुने भएको छ। सर्वोच्चले लक डाउन खुलेको ३० दिन भित्र कर तिर्न अन्तरिम आदेश दिएसँगै कर तिर्ने म्याद पछाडि धकलिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा.मनोज शर्माको इजलासले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने भनी अन्तरिम आदेश जारी गरेको हो।
सर्वोच्च अदालतले लक डाउन खुलेको मितिलाई प्रारम्भविन्दुको रुपमा मान्नुपर्ने आदेश जारी गरेको छ। यसअघिको फैसलामा सार्वजनिक यातायात खुलेपछिको अवस्थालाई लक डाउन खुलेको मान्नु पर्ने भनिए थियो। यद्दपि, यसपटकको आदेशमा उक्त कुरा उल्लेख छैन।
असार ७ गतेभित्र जसरी पनि कर तिर्न उर्दी जारी गरेको सरकारलाई सर्वोच्च अदालतको अन्तरिम आदेशले झड्का दिएको छ। अधिवक्ता सिर्जना अधिकारी लगायतले यस्तो रिट निवदेन दायर गरेका थिए। यसअघि सरकारले २५ गतेसम्म सरकारलाई कर बुझाउन भनेको थियो। यसमा व्यापक विरोध भएपछि म्याद थपेर असार ७ गतेसम्म पुर्याइएको थियो।


























