काठमाडौं, जेष्ठ २५ । सरकारले लकडाउनलाई खुकुलो बनाउने नयाँ रणनीति बनाएको छ। कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउन ७६ औं दिन पुग्दा सरकारले लकडाउन खुकुलो बनाउने योजनासहित नयाँ रणनीति बनाएको हो।
उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ रोग रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउन १० चरणको नयाँ मोडालिटी तयार गरेको छ।
तयार पारेको लकडाउन खुकुलो बनाउने नयाँ मोडालिटीको विषयमा शनिबार छलफल भएको थियो । स्रोतका अनुसार, सरकारले यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पारेको तीन फरक मोडालिटीलाई पन्छाउँदै नयाँ मोडालिटी पारेको हो।
नयाँ मोडालिटी अनुसार, सरकारले असार १ गतेदेखि आर्थिक, स्वास्थ्य र दैनिक कामलाई सहज बनाउनको लागि लकडाउनलाई खुकुलो बनाउन लागेको छ।
आइतबार समितिले लकडाउनको मोडालिटीको विषय छलफल गर्ने र सहमति भए, मन्त्रीपरिषद्लाई सिफारिस गर्नेछ। आइतबार नै बस्ने मन्त्रिपरिषद बैठकले मोडालिटी ठीक लागे निर्णय गर्ने छ।
गत चैत ११ गतेदेखि लागू गरिएको लकडाउन जेठ ३२ गतेसम्मलाई तोकिएको छ।


























