जेष्ठ २४ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड–१९ को संक्रमणबाट बच्न २० लाख खोप तयार भएको बताएका छन्। शुक्रबार प्रेस सम्मेलनमा खोप तयार भएको तर, सुरक्षित प्रयोगका लागि वैज्ञानिकले प्रमाणित गरिदिन मात्रै बाँकी रहेको बताए।
खोप तयार भएपनि यसको प्रयोग गर्न वैज्ञानिकले मञ्जुरी लिन बाँकी रहेको उनले बताए। अमेरिकाका बरिष्ठ संक्रमण रोग विज्ञषेज्ञ डाक्टर एन्थनी फाउचीले पनि एक वर्षभित्र एक लाख खोप तयार हुने बताएका छन्।
तर, खोप तयार पार्ने कम्पनीबारे बताइएको छैन। बीबीसीका अनुसार, ट्रम्पले तयार भएको खोप कहिलेबाट प्रयोगमा आउने भने खुलाएनन्।
अमेरिकामा अहिले पनि दैनिक २० हजार बढीमा संक्रमण देखिने गरेको छ। विश्वमै सवैभन्दा बढी संक्रमण देखिएको अमेरिकामा संक्रमित संख्या १९ लाख ६५ हजार पुगेको छ। यस मध्ये सात लाख बिरामी भने निको भएका छन् भने एक लाख दश हजार बढीको मृत्यु भएको छ। एजेन्सी


























