जेष्ठ १९ । अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा एक चालकले ट्यांकर ट्रक प्रदर्शनकारीको भिडमा चलाएका छन्।
समाचार संस्था रायटर्सले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै चालकले ट्रक प्रदर्शनकारीको भिडमा चलाएको उल्लेख गरेको छ। यो घटना मिनियापोलसको अन्तरराज्य राजमार्ग ३५ वेष्टमा भएको हो।
ड्राइभरले ट्रक चलाए पनि प्रदर्शनकारी भागेर चोटबाट जोगिन सफल भएका छन्। घटनापछि प्रदर्शनकारीले ड्राइभरलाई ट्रकबाट बाहिर निकाली कुटेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।
ती प्रदर्शनकारीले प्रहरी हिरासतमै अश्वेत व्यक्ति जर्ज फ्लोइडको मृत्यु भएको विरोधमा प्रदर्शन गरिरहेका छन्।
मिनियापोलससहित अमेरिकाका विभिन्न शहरमा विगत केही दिनदेखि फ्लोइडको हत्याको विरोधमा प्रदर्शन भइरहेको छ। केही स्थानमा प्रदर्शनले हिंसात्मक रुप लिएको छ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप भएका छन्। केही स्थानमा लुटपाट तथा आगजनी समेत भएको छ। अवस्था नियन्त्रणमा लिनका लागि विभिन्न शहरमा कर्फ्यू लगाइए पनि प्रदर्शन नियन्त्रणमा आउन सकेको छैन।
फ्लोइडको हत्या आरोपमा मिनियापोलस प्रहरीका एक पूर्व अधिकारीलाई पक्राउ गरी अभियोग दर्ता भइसकेको छ। गएको सोमबार ती प्रहरी अधिकारीले ४६ वर्षका फ्लोइडलाई पक्राउ गर्ने क्रममा उनको घाँटीमा घुँडाले थिचेका थिए।
फ्लोइडले ‘मलाई सास फेर्न गाह्रो भयो’ भन्दा पनि ती प्रहरी अधिकारीले घाँटीबाट घुँडा हटाएका थिएनन्। पछि हिरासतमै फ्लोइडको निधन भयो।
प्रहरीले उनको घाँटी थिचेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि मिनेशोटाको मिनियापोलस प्रहरीले चार अधिकारीलाई बर्खास्त गरेको थियो।
बर्खास्त गरिएका मध्ये फ्लोइडको घाँटी घुँडाले थिच्ने प्रहरी अधिकारी पक्राउ परेका हुन्। पक्राउ पर्ने पूर्व प्रहरी अधिकारी ४६ वर्षका डेरेक चुभन हुन्।
यसैबिच मृतक फ्लोइडको परिवारको तर्फबाट वकालत गरिरहेका एक वकिलले प्रहरी अधिकारीले फ्लोइडको हत्या जानेरै गरेको अभियोग लगाएका छन्।
चुभनमाथि ‘थर्ड–डिग्री मडर’ को अभियोग दर्ता भएको छ। तर फ्लोइड परिवारका वकिल बेन्जामिन क्रुम्पले सिबिएस न्यूजसँगको अन्तर्वार्तामा चुभनले जानेरै हत्या गरेको भन्दै ‘फस्ट–डिग्री मडरको अभियोग अनुसार कारवाही प्रक्रिया अघि बढ्नु पर्ने बताएका हुन्। एजेन्सी


























