काठमाडौं, जेष्ठ १७ । नेपालमा सलहको ठूलो समूह आइपुग्ने सम्भावना अति न्यून रहेको संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का सलह पूर्वानुमान विज्ञ डा. किथ क्रेसमनले बताएका छन्।
कृषि तथा पशुपक्षी मन्त्रालयले भिडियो कन्फ्रेन्स मार्फत सलहबारे जानकारी लिन गरेको भर्च्यूअल सम्मेलनमा डा. किथले सलहको समूह नेपाल प्रवेश गर्ने सम्भावना कम रहेको तर सावधानीका लागि पूर्वतयारी भने गर्नु पर्नेमा जोड दिएका हुन्।
उनका अनुसार अहिले पाकिस्तान हुँदै भारतका विभिन्न क्षेत्रमा क्षति गरिरहेको सलहको समूहको उड्ने दिशा र हालको मौसमी प्रणालीलाई विश्लेषण गर्दा नेपालमा सो समूह प्रवेश गर्ने सम्भावना अति कम रहेको छ।
सलहको समूह हावाको गति सापेक्ष भएर अर्थात जुन दिशामा वायु बहेको छ सोही दिशामा उड्ने गर्छ। हाल सलहको समूहको उडान रहेको वायुको दिशा नेपाल तर्फ मोडिने सम्भावना कम देखिएको उनले स्पष्ट पारेका छन्।
तर भारत हुँदै नेपालमा सलहको समूह आउँदैन भन्न सक्ने अवस्था भने नरहेको उनले स्पष्ट पारेका छन्। नेपालमा आए पनि सानो झुण्ड आउने र कम क्षति गर्ने उनले बताए।
सलह नेपाल प्रवेश गरे पनि मनसुन भन्दा पहिले नै फर्किने सम्भावना रहेको उनले जानकारी दिएका छन्।
नेपालमा सामान्यतया जुन १० (जेठ २८) मा मनसुन प्रवेश गर्छ। अहिलेसम्मको मौसमी प्रणाली हेर्दा यो वर्ष मनसुन एक–दुई दिन ढिला गरी नेपाल प्रवेश गर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुन सक्रिय हुने बेला भएकाले नेपालमा दक्षिण–पूर्वी वायु सक्रिय रहन्छ अर्थात वायु पूर्वबाट पश्चिमतिर सर्दै जान्छ। हावाको गतिसँग सापेक्ष भएर उड्ने भएकाले सलहको ठूलो समूह नेपाल प्रवेश गर्नका लागि त्यति उपयुक्त वायु प्रणाली नहुने देखिएको हो।
अहिलेसम्मको अवस्था हेर्दा सलहको समूह नेपाल आएमा प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशमा प्रभाव पर्ने देखिएको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता रहेका खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखाका सहसचिव डा। हरिबहादुर केसीले जानकारी दिए।
मन्त्रालयले गठन गरेको विशेष समितिले डा. किथसँग परामर्श गरेर आफ्नो प्रतिवेदन तयार पारिरहेको पनि उनले जानकारी दिएका छन्।
प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशलाई केन्द्रमा राखेर सलहको समूह आएमा के गर्ने भन्ने बारे तयारी भइरहेको उनले जानकारी दिएका छन्। विषादीको मौज्दात, त्यसको प्रयोग गर्ने तरिका, प्रयोग गर्ने मेसिनको व्यवस्थासहित सचेतनाका लागि काम गरिरहेको उनको भनाई छ।
मुलतः अफ्रिकाका रैथाने सलह हाल समुद्र माथिको मार्ग हुँदै पाँच हजार किलोमिटर भन्दा बढीको यात्रा तय गरेर पाकिस्तान तथा भारतका विभिन्न क्षेत्रमा आएका छन्। त्यहाँ सलहले किसानले लगाएका बाली सखाप पारेपछि नेपालमा पनि चिन्ता थपिएको हो।
सन् १९६० को दशकमा नेपालमा सलहको प्रकोप देखिएको थियो। त्यसपछि पहिलोपटक जोखिम देखिएको हो।


























