काठमाडौं, जेष्ठ १७ । गर्मीको मौसममा पसिना चुहिएर काखी गनाउन थाल्छ। यस्तो भयो भने कोही पनि हामीनजिक बस्न चाहँदैन।
काखीको गन्ध हटाउन डियोड्रेन्टको प्रयोग गरिन्छ तर त्यसले पनि सधैंभरि गन्ध हटाउँदैन। यहाँ हामी केही घरेलु उपाय बताउँदैछौं जसले काखीको गन्ध सजिलै हटाइदिन्छ।
बेकिङ सोडा
बेकिङ सोडाले पसिना सोस्ने काम गर्छ र ब्याक्टेरियालाई पनि सिध्याउँछ। बेकिङ सोडा र कागतीको रसलाई बराबर मिसाउनुस् र यसलाई आफ्नो काखीमा लगाउनुस्। पाँचदेखि १० मिनेटसम्म त्यत्तिकै छोडेपछि पानीले धुनुस्। केही दिनसम्म यो प्रक्रिया नियमित रूपमा दोहोर्याउनुभयो भने काखीको गन्ध हराउँछ।
स्याउको चुक अमिलो
स्याउको चुक अमिलोले पनि काखीको गन्ध हटाउँछ। कचौरामा अलिकति पानी हालेर त्यसमा कागतीको रस मिसाउनुस् र अलिकति स्याउको चुक अमिलो हाल्नुस्। यो मिश्रणलाई एउटा स्प्रे बोतलमा राखेर स्प्रे गर्नुभएपनि हुन्छ। यसले काखीको ब्याक्टेरिया हटाउँछ र पसिनाको दुर्गन्ध रोक्छ।
कागतीको रस
कागती पनि दुर्गन्ध हटाउने राम्रो उपाय हो। एउटा कागतीको टुक्रो आफ्नो काखीमा १० देखि १५ मिनेटसम्म थिचेर राख्नुस्। दिनभरि पसिनाबाट निस्कने दुर्गन्धलाई यसले रोक्छ।
फिटकिरी
फिटकिरीको प्रयोग गर्नुअघि त्यसलाई अलिकति पानीमा भिजाउनुस् र पसिनाबाट दुर्गन्ध आउने ठाउँमा रगड्नुस्। दिनभरिको दुर्गन्धबाट छुटकारा पाउनुहुन्छ।
गोलभेंडा
गोलभेंडामा भएको एन्टीसेप्टिक प्रोपर्टीका कारण पसिनाको दुर्गन्ध भाग्छ। अझ यसले पसिना पनि कम निकाल्छ। आठवटा गोलभेंडा लिएर त्यसलाई मजाले थिच्नुस् र रस निकाल्नुस्। त्यही रसलाई नुहाउने पानीमा हालेर नुहाउनुभयो भने ताजा पनि हुनुहुनेछ, पसिनाको दुर्गन्ध पनि हट्नेछ।
नखौरिनुस्
काखीको रौं हटाउनका लागि हामी प्रायः खौरिन्छौं तर खौरिएपछि त्यहाँको छाला संवेदनशील हुन पुग्छ। अनि त्यहाँ आफ्टरशेभ लगाउँदा जलन हुन थाल्छ। रेजरका कारण ब्याक्टेरिया र कीटाणुहरू पनि जन्मिन्छन् र काखीको दुर्गन्धको कारण बन्छन्।
बेस्सरी पानी पिउनुस्
गर्मीमा पानी पिउनु स्वास्थ्यका लागि आवश्यक कुरा हो। यसले हाम्रो शरीरलाई हाइड्रेट गराउँछ र स्किन पनि मोइस्चराइज हुन्छ। गर्मीमा भरपूर पानी पिउँदा शरीरबाट कम दुर्गन्ध निस्कन्छ। एजेन्सी
























